रास्वपा बैठकमा नेतृत्व संकटबारे तीव्र बहस, चार प्रदेश सभापतिको मार्गप्रशस्त माग

रातोघर

 २०८२ आश्विन ७, मंगलबार  मा प्रकाशित
२५७ पाठक संख्या


काठमाडौं । जेनजी आन्दोलनले सिर्जना गरेको नयाँ राजनीतिक परिस्थितिबीच राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सोमबार काठमाडौंमा बसिरहेको छ । शहीदहरूको सम्झनामा मौनधारण गर्दै सुरू भएको बैठकमा समसामयिक राजनीति, पार्टी नेतृत्वमाथि उठेका प्रश्न र संगठनात्मक जीवनबारे घनिभूत छलफल भइरहेको छ ।

सभापति रवि लामिछानेको कारागार रिहाइ प्रकरणले पार्टीभित्रै प्रश्न उठाएपछि बैठक विशेष महत्वका साथ हेरिएको छ । पार्टी स्रोतका अनुसार कम्तीमा चार प्रदेश सभापतिले लामिछानेले मार्ग प्रशस्त गर्नुपर्ने प्रस्ताव राख्ने तयारी गरेका छन् । कोशीका सरिन तामाङ, गण्डकीका राजन गौतम, लुम्बिनीका देवराज पाठक र सुदूरपश्चिमका प्रकाश विष्टले सभापतिले कानूनी मुद्दाको टुंगो लाग्दासम्म पद खाली गर्न वा संरक्षकको भूमिकामा बस्नुपर्ने धारणा प्रस्तुत गर्ने बुझिएको छ । बाँकी तीन प्रदेश सभापतिको भने धारणा अझै स्पष्ट भइसकेको छैन ।

बैठकमा नख्खु कारागारमा भएको घटनाबारे पनि लामो छलफल भइरहेको छ । सो प्रकरणलाई लिएर पार्टीले औपचारिक छानबिन गर्नुपर्ने माग केही नेताहरूले उठाएका छन् । प्रवक्ता मनिष झाले बैठकअघि नै केन्द्रीय सदस्यहरूको ह्वाट्सएप ग्रुपमा छानबिनको आवश्यकता औंल्याएका थिए । उनी आफैं नख्खुमा भएको आगजनीको भिडिओमा देखिएपछि विवादमा परेका छन् । सभापति लामिछाने स्वयं छानबिनका पक्षमा देखिएका छन् भने भदौ २४ गते नख्खु पुगेका केही नेताहरू भने त्यसको विपक्षमा रहेको जनाइएको छ । यद्यपि, यस प्रकरणले पार्टी र सभापतिको छविमा गम्भीर क्षति पुगेकोमा प्रायः नेताहरू सहमत छन् ।

यससँगै बैठकमा पार्टी पुनर्गठनका लागि महाधिवेशन वा विस्तारित बैठकबारे पनि बहस भइरहेको छ । रास्वपाले यसअघि फागुन ७, ८ र ९ गते महाधिवेशन गर्ने निर्णय गरेको थियो । तर फागुन २१ मा आमनिर्वाचन तोकिएपछि त्यो कार्यक्रम प्रभावित भएको हो । त्यसैले मंसिरमा महाधिवेशन सार्ने वा तिहारपछि विस्तारित बैठक आह्वान गर्ने विषय बैठकको अर्को महत्वपूर्ण एजेन्डा बनेको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban