

काठमाडौं । जेनजी आन्दोलनका क्रममा माइतीघर र बानेश्वर क्षेत्रमा प्रदर्शन हुँदा भेटिएको र भाइरल बनेको रक्ताम्य जुत्ता २८ वर्षीय प्रकाश बोहराको भएको खुलेको छ । दैलेख, नारायण नगरपालिका–८ स्थायी घर भएका बोहरा अहिले ट्रमा सेन्टरमा उपचाररत छन् ।
भदौ २३ गते बिहानै साथीहरूसँग आन्दोलनमा सहभागी हुन माइतीघर पुगेका प्रकाश संसद् भवनको पर्खालनेर पुगेका थिए । प्रहरीको अश्रुग्यास प्रहारबीच पनि उनी अघि बढेका थिए । त्यही बेला फलामे बार तान्दै गर्दा उनको देब्रे खुट्टामा गोली लागेको उनले अस्पतालको शैयाबाट सुनाए ।
गोली लाग्ने क्षणमा सँगै रहेका उनका सालो विप्लव थापाले खिचेको भिडियोमा प्रकाशको सेतो जुत्ता स्पष्ट देखिन्छ । गोली लागेपछि उनी लडेका र आन्दोलनकारी तितरबितर भएको दृश्य त्यही भिडियोमा कैद भएको छ ।
“गोली लाग्दा खुट्टा रगताम्य भएको थियो । एम्बुलेन्समा चढाउने बेला कसैले जुत्ता खोलिदिएको सम्झना छ,” प्रकाशले भने । अस्पतालमा ल्याएपछि दाहिने खुट्टाको जुत्ता स्वास्थ्यकर्मीले खोलेको र पछि सो जुत्ता नै सामाजिक सञ्जालमा भाइरल भएको उनले पछिल्लो दिनमा मात्रै थाहा पाएको बताए ।
ट्रमा सेन्टरमा उनको खुट्टाको शल्यक्रिया भइसकेको छ । हाल उनी उपचाररत अवस्थामा रहेका छन् । आन्दोलनपछि नवौं दिन उनका सालो विप्लवले ‘भिनाजु, तपाईंको जुत्ता पूरै भाइरल छ’ भन्दै जानकारी गराएपछि मात्र उनले भाइरल भएको जुत्ताको वास्तविकता थाहा पाएका हुन् ।





Write your Comment