

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तोकिएको समयमा निर्वाचन सम्पन्न गरी जनप्रतिनिधिमूलक संसद् र सरकारको निरन्तरताको सुनिश्चितताका लागि संयमित भई आवश्यक सहयोग र सहकार्य गर्न सबै राजनीतिक शक्ति र सरोकारवालाहरूप्रति आग्रह गरेका छन् ।
बडा दसैँको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई शुभकामना सन्देश दिँदै उनले देशमा उत्पन्न असाधारण परिस्थिति, मानवीय क्षति तथा सरकारी, संस्थागत र निजी क्षेत्रमा भएको भौतिक विनाशको समुचित व्यवस्थापन गर्न राज्य, समुदाय र सम्बन्धित निकायहरू जिम्मेवार बन्नुपर्ने उल्लेख गरे।
राष्ट्रपति पौडेलले हिन्दू धर्मावलम्बीहरूको महान चाड बडादसैँले नेपाली समाजमा पारिवारिक एकता, सांस्कृतिक सह-अस्तित्व, आपसी सद्भाव र भावनात्मक एकता मजवुत बनाउन महत्वपूर्ण भूमिका खेल्दै आएको बताए। उनले आश्विन शुक्ल प्रतिपदादेखि दशमी र पूर्णिमासम्म मनाइने यस पर्वलाई शक्ति, भक्ति र श्रद्धाको प्रतीकका रूपमा चित्रण गर्दै दशैँलाई “असत्यमाथि सत्यको विजय” को पर्वका रूपमा समेत लिइने बताए।
“दसैँको अवसरमा पारिवारिक जमघट, पुनर्मिलन, खुसीयाली र हार्दिकतासाथ मनाउने प्रचलन रहिआएको छ। यस पर्वले न्याय, समानता, आर्थिक समृद्धि, सामाजिक एकता र भ्रातृत्व अभिवृद्धिमा सबै नेपालीलाई आ–आफ्नो क्षेत्रबाट टेवा पुगोस् भन्ने मेरो विश्वास छ,” राष्ट्रपति पौडेलले सन्देशमा भनेका छन्।
उनका अनुसार टीका, जमरा र आशिर्वाद ग्रहण गरेर विजया दशमी मनाउने परम्पराले मान्यजनप्रतिको सम्मान र श्रद्धालाई अझ दृढ बनाएको छ। उनले बडादसैँले पारिवारिक मिलन, मेलमिलाप, क्षमा, सद्भाव र भाइचारालाई सबल पारेर भौगोलिक, भाषिक र सांस्कृतिक विविधताबीचको राष्ट्रिय एकतालाई थप सुदृढ तुल्याएको उल्लेख गरे।
राष्ट्रपति पौडेलले वर्तमान राजनीतिक परिस्थितिबाट शीघ्र उन्मुक्ति प्राप्त होस् र राष्ट्रको समग्र कल्याणका लागि दुर्गा भवानीले शक्ति प्रदान गरून् भनेर कामना गरेका छन्। उनले मुलुकमा शान्ति, स्थायित्व, सुशासन र समृद्धिको प्रगाढ इच्छा व्यक्त गर्दै सबैमा सुख, सुस्वास्थ्य र प्रगतिका लागि हार्दिक शुभकामना व्यक्त गरे।





Write your Comment