कायरोमा इजरायल–हमास वार्ताको पहिलो दिन ‘सकारात्मक’, विपिन जोशीको रिहाइ पनि मुख्य एजेन्डा

रातोघर

 २०८२ आश्विन २१, मंगलबार  मा प्रकाशित
१९९ पाठक संख्या


कायरो । इजिप्टको राजधानी कायरोमा इजरायल र हमासबीच सुरु भएको अप्रत्यक्ष वार्ताको पहिलो दिन ‘सकारात्मक वातावरणमा’ सम्पन्न भएको इजिप्टेली अधिकारीहरूले बताएका छन्। यस वार्ताले गाजामा जारी युद्धविराम र बन्धक मुक्तिको सम्भावनामा नयाँ आशा जगाएको अलजजीराले जनाएको छ।

नेपालका विपिन जोशीसहितका बन्धकहरूको रिहाइलाई पहिलो प्राथमिकता दिइएको वार्तामा प्रत्यक्ष रूपमा इजरायल र हमासका प्रतिनिधिहरू एउटै कोठामा उपस्थित थिएनन्। इजिप्ट र कतारका मध्यस्थहरूले सन्देश आदानप्रदान गर्दै वार्ता अघि बढाएका थिए, जसमा अमेरिकी अधिकारीहरू पनि अप्रत्यक्ष रूपमा संलग्न थिए।

इजिप्टेली कूटनीतिक स्रोतहरूका अनुसार पहिलो दिनको छलफलमा दुवै पक्षले केही ‘साझा बिन्दुहरू’मा सहमति देखाएका छन्— विशेषगरी मानवीय सहायता गाजामा सहज रूपमा पुग्ने र बन्धक आदानप्रदान प्रक्रियामा विश्वास कायम गर्ने विषयमा।

इजरायली सञ्चारमाध्यमहरूका अनुसार हमासले युद्धविरामको प्रस्तावसहित केही मानवीय सर्तहरू अघि सारेको छ। तीमध्ये मुख्य मागहरूमा— इजरायली सेनाले गाजाको उत्तरी भागबाट फिर्ता हुनुपर्ने, नाकाबन्दी खुकुलो पारिनुपर्ने, र अस्पताल तथा राहत संरचनामाथिको आक्रमण रोक्नुपर्ने रहेका छन्।

इजरायली पक्षले भने आफ्नो प्राथमिकता बन्धकहरूको सुरक्षित मुक्तिलाई दिएको छ। “जबसम्म बन्धकहरू फर्काइँदैनन्, पूर्ण युद्धविरामको प्रश्न उठ्दैन,” इजरायली स्रोतले भन्यो। तर मध्यस्थहरूले दुवै पक्षलाई ‘मानवीय स्थिरता’ कायम गर्न आग्रह गरेका छन्।

कतार र इजिप्टले वार्ताको दोस्रो चरण शुक्रबारका लागि तय गरेका छन्, जसमा बन्धकहरूको नामसूची र सम्भावित चरणबद्ध युद्धविरामबारे छलफल हुने अपेक्षा गरिएको छ। विभिन्न चरणमा केही बन्धकहरू रिहा भए पनि नेपाली नागरिक विपिन जोशी अझै हमासकै कब्जामा रहेको बताइएको छ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban