गुण्डुस्थित ओली निवासमा एमाले सचिवालय बैठक सुरू, संसद पुनस्थापना र चुनावबारे मतभेद तीव्र

रातोघर

 २०८२ आश्विन २४, शुक्रबार  मा प्रकाशित
३२७ पाठक संख्या


काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक अध्यक्ष केपी शर्मा ओलीको गुण्डुस्थित निवासमा सुरू भएको छ । केहीबेर अघि प्रारम्भ भएको बैठकमा समसामयिक राजनीतिक परिस्थिति, पार्टीका आन्तरिक व्यवस्थापनका विषय, जेन-जी आन्दोलनपछि पार्टीको अवस्था मूल्यांकन र आसन्न केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्ने तयारी गरिएको छ ।

बैठकमा अध्यक्ष ओलीले विभिन्न प्रदेश, जिल्ला र प्रवासमा रहेका पार्टी अध्यक्षसँग हालै गरिएको भर्चुअल छलफलबारे जानकारी दिनेछन् । साथै वर्तमान सरकारले लिन सक्ने सम्भावित कदम र निर्वाचनको सम्भावनाबारे समेत आफ्ना धारणा राख्ने बताइएको छ ।

तर पार्टीभित्र संसद पुनस्थापना र आगामी चुनावमा जाने विषयलाई लिएर मतभेद देखिएको छ । अध्यक्ष ओली स्वयं संसद पुनस्थापनाको एजेन्डा लिएर सडकमा जानुपर्ने पक्षमा खुलेर बोलिसकेका छन् ।

उता उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले भने देशलाई निकास दिन चुनाव नै एक मात्र विकल्प भएको भन्दै यही प्रस्ताव आजको बैठकमा प्रस्तुत गर्ने बताएकी छन् ।

यस्तै पार्टी पुनर्गठनको आवश्यकताबारे पनि बहस सुरु भएको स्रोतले जनाएको छ । केही नेताहरूले अध्यक्ष ओलीलाई नेतृत्वबाट विदा गरी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई कार्यवाहक बनाउँदै महाधिवेशनमा जानुपर्ने सुझाव दिने तयारी गरेको बताइएको छ ।

बैठकले पार्टीको आगामी रणनीति कस्तो हुने भन्ने विषयमा महत्वपूर्ण निर्णय लिने अपेक्षा गरिएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban