रवि लामिछाने र छविलाल जोशीको मुद्दामा आज बुटवल उच्च अदालतमा सुनुवाइ

रातोघर

 २०८२ कार्तिक २७, बिहिबार  मा प्रकाशित
१४३ पाठक संख्या


रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र पूर्व डीआईजी तथा गोर्खा मिडियाका तत्कालीन सञ्चालक छविलाल जोशीसँग सम्बन्धित मुद्दाको आज बुटवल उच्च अदालतमा सुनुवाइ हुँदैछ।

यसअघि कात्तिक २० गतेको इजलासले ‘सुरू मिसिल’ माग गर्ने आदेश दिएको थियो। गत बिहीबार उच्च अदालत बुटवल इजलासका न्यायाधीश वासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले सो आदेश दिएको हो। मिसिल प्राप्त भएसँगै आजका लागि पेशी तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जानकारी दिए।

कात्तिक १३ गते तोकिएको अघिल्लो पेशी जोशीका कानुन व्यवसायीले निवेदन दिएपछि स्थगित भएको थियो। यसअघि न्यायाधीश मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले दुवै प्रतिवादीको मुद्दा समान प्रकृतिको भएको भन्दै एकैसाथ राख्ने आदेश दिएको थियो।

लामिछानेले बिगो बमोजिमको रकम बुझाई थुनामै रहेर मुद्दा लड्न माग गरेका थिए। त्यसअनुसार उच्च अदालतले रविसँगै जोशीको फाइल पनि पेस गर्न आदेश दिएको थियो। यसअघि उच्च अदालत बुटवलले नै लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन माग गर्ने आदेश पनि दिएको थियो।

‘जेन–जी’ आन्दोलनका क्रममा उच्च अदालत बुटवल इजलासमा आगजनी र तोडफोड भए पनि लामिछाने र जोशी दुवैको मुद्दा फाइल सुरक्षित रहेको अदालतले जनाएको छ।

सुप्रिम सहकारी ठगी प्रकरणमा पुर्पक्षका लागि थुनामा रहेका लामिछानेले सहकारीमा अपचलन भएको आफ्नो भागको बिगो रकम दाखिला गरे पनि जिल्ला अदालत रुपन्देहीले रिहा नगरेपछि भदौ ९ गते उच्च अदालतमा निवेदन दर्ता गरेका थिए।जिल्ला अदालतका न्यायाधीश नारायण सापकोटाको इजलासले साउन २६ गते लामिछानेको रिहा माग निवेदन अस्वीकार गरेको थियो।

सुप्रिम सहकारी ठगी प्रकरणमा रविसहितका प्रतिवादीविरुद्ध १० करोड ९९ लाख ३६ हजार रुपैयाँ सामूहिक बिगो कायम गरी अभियोगपत्र दायर गरिएको छ। लामिछानेले उक्त रकमको चार भागमध्ये आफ्नो एक भागबराबर २ करोड ७४ लाख ८४ हजार रुपैयाँ बिगो दाखिला गरी बैंक जमानत पेस गरेका थिए। जोशीले पनि सोही बराबरको जमानत पेस गरेका थिए।

तर दुवैको भागमा ठ्याक्कै कति बिगो पर्ने भन्ने स्पष्ट नभएकाले अदालतले रिहा गर्न अस्वीकार गरेको थियो। हाल दुवै पुर्पक्षका लागि थुनामा छन्। रवि लामिछानेलाई भैरहवाबाट ललितपुरको नख्खु कारागारमा सारिएको छ भने छविलाल जोशी भैरहवा कारागारमै रहेका छन्।

Write your Comment