उपेन्द्र यादवको पहल : विभाजित मधेशवादी नेताहरूलाई फर्काउने र पार्टी अनुशासनमा कडाइ

रातोघर

 २०८२ कार्तिक २७, बिहिबार  मा प्रकाशित
१११ पाठक संख्या


काठमाडौं । आगामी निर्वाचन नजिकिँदै जाँदा जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले विगतमा पार्टी छाडेका नेताहरूलाई फर्काउने अभियान थालेका छन्।
अशोक राईको नेतृत्वमा भएको विभाजनपछि कमजोर बनेको जसपा नेपालले फेरि एकताको पहल थालेको हो। यादवले जारी गरेको परिपत्रमार्फत समान विचार, सिद्धान्त र मुद्दा मिल्ने राजनीतिक दलहरूसँग एकता तथा सहकार्य गर्ने घोषणा गरेका छन्।

परिपत्रमा भनिएको छ, “विचार, सिद्धान्त नमिल्ने तर राजनीतिक मुद्दा मिल्ने दलहरूसँग संयुक्त मोर्चा वा कार्यगत एकता गर्न सकिनेछ, र आवश्यक परे निर्वाचन तालमेल पनि सम्भव हुनेछ।”
उनले संघीय लोकतान्त्रिक मोर्चालाई अझ प्रभावकारी र सबल बनाउँदै संघीयता, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशिता र सामाजिक न्यायविरुद्ध उभिएका शक्तिलाई परास्त गर्न अन्य दलहरूसँग सहकार्य गर्न सकिने बताएका छन्।

पछिल्ला दिनमा यादवले अशोक राई, महन्थ ठाकुर र राजेन्द्र महतोलगायत मधेश केन्द्रित नेताहरूसँग संवाद सुरु गरेका छन्। जसपा नेपालका अध्यक्ष यादवबाट एकताको प्रस्ताव आएको पुष्टि जसपाका अध्यक्ष अशोक राईले गर्दै ‘कुरा मिले सहकार्य सम्भव छ’ भन्ने प्रतिक्रिया दिएका छन्।

संविधान संशोधन र रूपान्तरणको पक्षमा जसपा

परिपत्रमा जसपा नेपालले वर्तमान संविधान संशोधन र पुनर्लेखन आवश्यक रहेको स्पष्ट पारेको छ।
यादवले भनेका छन्, “कार्यकारी राष्ट्रपति प्रणाली, समानुपातिक समावेशी संसद्, न्याय प्रणाली र प्रादेशिक संरचनाको पुनर्संरचना बिना जनताका माग सम्बोधन हुन सक्दैन।”
उनका अनुसार, प्रतिनिधि सभाको विघटन संविधानअनुकूल थिएन र यथास्थितिमा हुने संसदीय निर्वाचनले मुलुकलाई पुनः यथास्थितिमा फर्काउनेछ।

अनुशासनमा कडाइ र आन्तरिक शुद्धीकरण

परिपत्रमा पार्टीभित्र अनुशासन कडाइ गर्ने निर्देशन दिइएको छ।
पार्टी र नेतृत्वविरुद्ध सामाजिक सञ्जालमा नकारात्मक टिप्पणी गर्न निषेध गरिएको छ।
गुटबन्दी, भ्रम सिर्जना, वा पार्टीहीत विपरीत क्रियाकलापमा संलग्न जो कोहीलाई विधानअनुसार कारबाही गरिने चेतावनी दिइएको छ।

यादवले भनेका छन्, “सशक्त क्रान्तिकारी र शक्तिशाली संगठन निर्माणका लागि दह्रो अनुशासन आवश्यक छ। पार्टीलाई विखण्डन गर्ने वा षड्यन्त्र गर्नेहरूलाई पहिचान गरी कार्यवाही गरिनेछ।”

मधेश राजनीतिमा नयाँ गतिशीलता

उपेन्द्र यादवको यो पहलले मधेशवादी राजनीतिमा पुनः नयाँ गतिशीलता ल्याएको देखिन्छ।
चुनाव नजिकिँदै गर्दा जसपा नेपालले एकता र अनुशासन दुवैलाई प्राथमिकतामा राखेको छ, जसले आगामी निर्वाचनमा मधेश केन्द्रित दलहरूबीच नयाँ सहकार्यको सम्भावना देखाएको छ।

Write your Comment