

सिमरा : प्रदेश नम्बर २ सरकारले सुरु गरेको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ अभियान अन्तर्गत छोरी शिक्षा विमा बैँक खाता सञ्चालन शिविर जीतपुरसिमरा उपमहानगरपालिकामा माघ १६, १७ र १८ गते सञ्चालन हुनेछ ।
जीतपुरसिमरा उपमहानगरपालिका कार्यालयले दिएको जानकारीअनुसार माघ १६ गते बिहिबार वडा नम्बर १० स्थित छातापिपरा स्वास्थ्य चौकीमा शिविर सञ्चालन गरिनेछ । वडा नम्बर पाँच, सात, आठ, १०, १९, २०, २३ र २४ लाई लक्षित गरी छातापिपरामा शिविर राखिएको कार्यालयले सुचनामार्फत जनाएको छ ।
त्यसैगरी वडा नम्बर १, २, ३, ४, ६, २१ र २२ का लागि सिमरास्थित प्रथमिक स्वास्थ्य सेवा केन्द्रमा माघ १७ गते शिविर राखिनेछ ।
बाँकी रहेका वडा नम्बर ११, १२, १३, १४, १५, १६, १७ र १८ लाई सहज हुनेगरी शहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र डुमरवानामा माघ १८ गते शनिवार शिविर रहने उपमहानगर कार्यालयले जानकारी दिएको छ ।
गत २०७५ माघ १ गतेयता जन्मेका छोरीहरुको जन्मदर्ता गराई बैँक खाता खोल्न शिविरमा जाँदा सो को प्रतिलिपी साथै लिएर जानुपर्नेछ । त्यससँगै छोरी र अभिभावक दुबैको पासपोर्ट साइजको ६÷६ प्रती फोटो पनि आवश्यक पर्ने कार्यालयले जारी गरेको सुचनामा भनिएको छ । बिहान १० बजेदेखी साँझ पाँच बजेसम्म् सञ्चालन हुने शिविरमा बालिकाहरुको निःशुल्क स्वास्थ्य परिक्षण समेत गरीनेछ ।
बारा खबर





Write your Comment