

काठमाडौं ।
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आन्तरिक विवाद बढेको छ । सत्ताको नेतृत्व गरेको दलमा नै विवाद चरम उत्कर्षमा पुगेपछि विभिन्न किसिमले यसको समीकरणको लेखाजोखा हुँदै आएको छ ।
कम्युनिस्ट पार्टीमा सरकारभन्दा ठूलो पार्टी हुन्छ भन्ने कम्युनिस्टहरूमा अहिले सबै सरकारको विरुद्धमा लागेका छन् । पार्टीले सरकार चलाउनुपर्नेमा यहाँ सरकारले पार्टी चलाएको भन्दै आलोचना हुन थालेको छ ।
अहिले नेकपामा विवाद यतिसम्म बढेको छ कि यो विवाद दोस्रो चरणमा प्रवेश गरेको छ । पहिलो चरणको विवाद नेकपाले सचिवालयमा मिलाउँदै आएको छ । अहिले सचिवालयबाट होइन, समस्याको समाधान गर्न स्थायी कमिटीको बैठक बोलाउनुपर्छ भनेर २० जना स्थायी कमिटी सदस्यले हस्ताक्षर गरेर अध्यक्षद्वयलाई बुझाएका छन् ।
यस कारण भन्न सकिन्छ कि नेकपाको विवाद दोस्रो चरणमा प्रवेश गरेको छ । यही दोस्रो चरणको विवादका कारण नेकपामा अहिले वारपारको लडाइँ सुरु भएको छ ।
नेकपामा एक व्यक्ति, एक पदको मुद्दा धेरै पहिलाबाट नै उठ्न थालेको थियो तर त्यो कार्यान्वयन भएन । त्यो मुद्दा अहिले पनि उठ्ने गरेको छ । तर, अहिले मुद्दाभन्दा पनि नेकपामा बहुमतको राजनीति चलेको छ । ४ सय ४५ जनाको केन्द्रीय कमिटी र १ सय ७४ जना संघीय सांसद छन् ।
अहिले नेकपामा यिनै सांसद र केन्द्रीय सदस्यहरूको लेखाजोखा चलेको छ । पुसबाट बनेको भैँसैपाटी गठबन्धन यथावत रहँदा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली अल्पमतमा पर्छन् ।
प्रधानमन्त्री ओली अहिले पार्टी भन्दा पनि संसदीय दलमा आफ्नो बहुमत देखाउन चाहन्छन् । यसका लागि उनले भैँसेपाटी गठबन्धनबाट केही सांसद आफूतर्फ तान्नुपर्ने हुन्छ । यसका लागि उनलाई अहिले १० जना सांसदको आवश्यकता पर्छ । उक्त संख्या पु¥याउन ओलीले तत्कालीन माओवादी अथवा पूर्वएमालेको माधवकुमार नेपाल समूहबाट आफूतर्फ ल्याउनुपर्छ ।
यसका लागि ओलीलाई अहिले कठिन नभएको पनि उनी निकट नेताहरू बताउने गर्छन् । तर, ओलीले पहिला सचिवालयको सामना गर्नुपर्नेछ । ९ सदस्यीय सचिवालयमा ओली अहिलेको अवस्थामा अल्पमतमा छन् । उनी सचिवालय मात्र होइन, पार्टीको स्थायी कमिटीमा पनि अल्पमतमा छन् ।
नेकपामा अहिले ४ जना नेता मिलेर सचिवालय हुँदै स्थायी कमिटीको बैठक बोलाउन ओलीमाथि दबाब दिँदै आएका छन् । प्रचण्ड, नेपाल, झलनाथ खनाल र वामदेव गौतमले स्थायी कमिटीको बैठक बोलाउन माग गरिरहेका छन् । ओली भने सचिवालयमा नै सबै कुरा मिलाउने पक्षमा रहेका छन् ।
नेकपामा विवाद पहिला पनि नभएका होइनन् । यो २ वर्षमा नेकपामा धेरै विवाद भए । कहिले केन्द्रमा प्रचण्ड–नेपाल रहे भने कहिले ओली–प्रचण्ड रहे । तर, नेकपाका विवाद सचिवालयमा नै समाधान भएका छन् ।
यो विवाद पनि ओली सचिवालयमा नै मिलाउन चाहन्छन् तर अर्का अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता नेपाल भने स्थायी कमिटीको बैठकबाट समस्याको समाधान गर्नुपर्ने भन्दै आएका छन् ।
प्रचण्ड निकट एक स्थायी कमिटी सदस्य भन्छन्, ‘ओलीले अहिलेको समस्या सचिवालयबाट नै समाधान गर्न चाहेका छन् । तर, हामी भने स्थायी कमिटीबाट नै समस्याको समाधान गर्नुपर्छ भन्नेमा अडिग छौँ ।’
ओली निकट स्थायी कमिटी सदस्य छविलाल विश्वकर्मा अहिले नेकपामा उठेका विषयहरू नै समय सान्दर्भिक नभएका बताउँछन् । विश्वकर्माले भने, ‘अहिले नेकपामा कुन तहको बैठक बस्यो, किन बस्यो भन्नेमा आमजनताको चासो छैन । अहिले चासो छ त कोरोना भाइरसबाट कसरी बाँच्ने, कसरी जिउ–धनको सुरक्षा गर्ने भन्ने हो ।’
नेकपामा अहिले स्थायी कमिटीदेखि सांसदसम्म को कसको पक्षमा भन्ने हिसाब हुन थालेको छ । यो राम्रो नभएको नेकपा स्थायी कमिटीका नेताहरू नै बताउँछन् । तर, सबै गुटका भेला र छलफलमा व्यस्त रहेका छन् । स्थायी कमिटी सदस्य मणि थापा भन्छन्, ‘समस्याको समाधान गर्न पार्टी विधि र विधानअनुसार चल्नुपर्छ । स्वेच्छाचारी कसैले पनि हुनुहुँदैन । पार्टी विभाजन गर्न एकता गरेको होइन, यो एकता टिकाउनुपर्छ ।’
नेकपामा अहिलेको सचिवालय र स्थायी कमिटीको समीकरण यस्तो छ ।
ओली समूह
१. केपी शर्मा ओली
२. ईश्वर पोखरेल
३. विष्णु पौडेल
४. शंकर पोखरेल
५. सुवास नेम्वाङ
६. किरण गुरुङ
७. पृथ्वी सुब्बा गुरुङ
८. सत्यनारायण मण्डल
९. छविलाल विश्वकर्मा
१०. प्रदीपकुमार ज्ञवाली
११. लेखराज भट्ट
१२. विष्णु रिमाल
प्रचण्ड समूह
१. पुष्पकमल दाहाल (प्रचण्ड)
२. नारायणकाजी श्रेष्ठ
३. रामबहादुर थापा
४. गणेश साह
५. गिरीराजमणि पोखरेल
६. चक्रपाणी खनाल
७. जनार्दन शर्मा
८. टोपबहादुर रायमाझी
९. देवेन्द्र पौडेल
१०. देव गुरुङ
११. पम्फा भुसाल
१२. वर्षमान पुन
१३. मणि थापा
१४. मात्रिका यादव
१५. शक्ति बस्नेत
१६. हरिबोल गजुरेल
१७. लीलामणि पोखरेल
नेपाल-खनाल समूह
१. झलनाथ खनाल
२. माधवकुमार नेपाल
३. वामदेव गौतम
४. अष्टलक्ष्मी शाक्य
५. युवराज ज्ञवाली
६. भीम रावल
७. घनश्याम भुसाल
८. रघुजी पन्त
९. वेदुराम भुसाल
१०. सुरेन्द्र पाण्डे
११. मुकुन्द न्यौपाने
१२. योगेश भट्राई
१३. रघुवीर महासेठ
१४. गोकर्ण बिष्ट
१५. भीमप्रसाद आचार्य
आजको सचिवालय बैठकले समाधान निकालेन भने नेकपाको विवाद स्थायी कमिटीमा पुग्नेछ ।
-Shilapatra.com





Write your Comment