

काठमाडौं । नेपालमा कोरोना भाइरसको संक्रमण ह्वात्तै बढ्न थालेको छ । विभिन्न जिल्लामा थप ९५ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बुधबार दिउँसो ४ बजेसम्म देशैभर ८८६ जनामा कोरोना संक्रमण भएको जानकारी दिइएको थियो । त्यसपछि विभिन्न जिल्लामा थप ९५ जनामा कोरोना संक्रमण देखिएको हो ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धनरामा गरिएको परीक्षणमा प्रदेश दुईका विभिन्न जिल्लामा ७६ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ।
प्रदेश २ का विभिन्न जिल्लामा ७६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । धनुषामा २९, महोत्तरीमा १७, सप्तरीमा १४, सर्लाहीमा ७, सिरहामा ६ र रौतहटमा ३ जनामा कोरोना संक्रमण देखिएको प्रदेश दुईको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यस्तै गण्डकी प्रदेशको स्याङ्जामा थप ३ जनामा कोरोना भाइरसको संक्रमण पाइएको छ । तीन जना नयाँ संक्रमित वालिङका दुई पुरुष र एक महिला रहेको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ । नवलपरासी पूर्व पनि थप एकजनामा कोरोना भाइरसको संक्रमण पाइएको छ ।
कर्णाली प्रदेशको वीरेन्द्रनगरमा रहेको प्रयोगशालामा भएको परीक्षणमा १५ जना नयाँ संक्रमित फेला परेका छन् । सामाजिक विकास मन्त्रालयका अनुसार संक्रमितमध्ये १३ जना सुर्खेतका, एक जना बझाङका र अर्की एक महिलाको ठेगाना खुल्न नसकेको कर्णाली प्रदेशको स्वास्थ्य महाशाखाका प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।





Write your Comment