

काठमाडौं। मुगुको छायानाथ रारा नगरपालिकाका चार वडाध्यक्षसहित १० जनालाई नगरसभाबाट निष्कासन गरिएको छ।
गत बुधबार नगरसभामा चार वडाध्यक्षसहित १० जनाले अध्यक्ष, सदस्य, नगर सभामा खटिएका कर्मचारी र सुरक्षाकर्मीमाथि लक्षित गर्दै धुलाे खुर्सानी छर्किने, लाठी हान्ने र कुर्ची भाँच्ने गरेका थिए।
त्यस घटनामा संलग्न १० जनालाई नगरपालिकाका प्रमुख हरिजंग शाहीले बिहीबारदेखि लागू हुनेगरी सात दिनका लागि नगरसभाबाट निश्कासन गरेका हुन्।
‘सभाको प्रतिष्ठा तथा गरिमामा धक्का लाग्ने किसिमले सभा हलभित्र ध्वंसात्मक कार्य गरेको, बल प्रयोग गरी भौतिक क्षति पुर्याएकोले बिहीबारदेखि सात दिनसम्म सभामा आउन नपाउने गरी निष्कासन गरिएको छ’ नगरपालिकाले जारी गरेको सूचनामा उल्लेख छ।
निष्काशन हुने वडाध्यक्षहरुमा १ का लोकबहादुर हितान, १२ का सुवाचन्द्र बुढा, १४ का नन्दलाल बढुवाल र ७ का हरिचन्द्र शाही छन्।
त्यसैगरी कार्यपालिकाका सदस्य कर्ण कुलाल, सिमा परिवार, पंचकला रावल, बैदेवी बिक, बासमति बिक र रत्न बढुवाललाई समेत निष्कासन गरिएको छ।
-setopati.com





Write your Comment