चट्याङको मौसम सुरु भयो, कसरी जोगिने होला ?

रातोघर

 ३ बैशाख २०७७, बुधबार १६:५८  मा प्रकाशित

काठमाडौं । हुरी बतास चल्ने याममा वा वर्षायाममा चट्याङ पर्छ । जब आकाशमा बिजुली चम्किँदै ठूलो आवाज निस्किन्छ हामी डरले आँखा र कान बन्द गर्छौं । किनभने हामीलाई थाहा छ, यसको आवाज ज्यादै भयंकर र क्षति ठूलो हुन्छ ।

गत वर्ष मकवानपुरको बकैया गाउँपालिका ९ शिखरपुरमा चट्याङ लागेर एकै परिवारका तीन जनाको मृत्यु भएको थियो । अन्य स्थानमा पनि हरेक वर्ष चट्याङले पुर्याएको क्षतिबारे हामीले पढ्दै र सुन्दै आएका छौं ।

कतिपयले चट्याङको मार प्रत्यक्ष भोगेका पनि छौं होला । तर चट्याङ के हो ? किन पर्छ ? यसबाट जोगिने सरल उपाय के हो ? भन्ने कुरा कतिपयलाई थाहा नहुन सक्छ । आज हामी त्यसबारे जानकारी दिन्छौं ।

चट्याङ के हो ?

हुरीबतासको मौसम वा वर्षायाममा वायुमण्डलमा विपरीत दिशाबाट तीव्र गतिको वायु एकापसमा ठोक्किँदा विद्युतीय लहर उत्पन्न हुन्छ । आकासमा हामीले एक ठाउँबाट अर्को ठाउँसम्म बांगोटिंगो भई गएको आगोको झिल्का त्यही विद्युतीय करेन्ट हो । हामी नेपालीहरुले त्यसलाई चलन चल्तीको भाषामा ‘बिजुली चम्केको’ भन्छौं ।

तीव्र गतिको वायु एकापसमा घर्षण हुँदा विद्युतीय करेन्ट मात्रै होइन, ठूलो आवाज पनि आउँछ । तर हामी जमिनमा भएकाले पहिले बिजुली, त्यसको केहीबेरपछि मात्र आवाज सुन्छौं । किनभने ध्वनी (आवाज)को गति भन्दा प्रकाशको गति छिटो हुन्छ । त्यसैले हामीले पहिले बिजुली चम्केको देख्छौं र पछि बादल गर्जेको आवाज सुन्छौं । जब आकाशमा बिजुली चम्किँदै र ठूलो आवाजका साथ गड्याङगुडुङ् गर्न थाल्छ, त्यसैलाई हामीले चट्याङ परेको भन्छौं ।

चट्याङ पर्दा बन्चरो आकासबाट जमिनमा झर्ने, आँगनमा रक्सि छर्कियो भने चट्याङ नपर्ने, आँगनमा हँसिया, खुर्पा, बन्चरो आदि राखिदिएमा पनि चट्याङ नपर्ने भन्ने भनाइ भने सत्य नभएको बैज्ञानिकहरु बताउँछन् ।

चट्याङ विशुद्ध प्राकृतिक घटना हो । त्यसैले मौसमविदहरुले यसबारे पूर्व सावधानी अपनाउन सकियोस् भनेर मौसमी बुलेटिन निकालेर सूचना दिने गरेका छन् । कतिपय देशले चट्याङको पूर्वसूचना दिने प्रविधिको विकास गरी प्रयोग गर्दै आएका छन् ।

चट्याङ किन पर्छ ?

सूर्यको तापक्रमले पृथ्वीको सतहको तापक्रम बढ्छ । तापक्रम बढेसँगै ताल, नदी, समुद्र आदिबाट पानीका कण बाफ भनेर माथितिर उड्दै जान्छ । पानीका यी कणहरु बादलमा परिणत हुन्छन् । पानीको मात्रा बादलमा पर्याप्त मात्रामा भएपछि बादलको तह बाक्लो हुँदै जान्छ, जसलाई ‘क्युमलोनिम्बस’ भनिन्छ । बादल धेरै बाक्लो भएपछ् िसूर्यको प्रकाश छिर्न नसक्ने हुँदा कालो देखिन्छ । त्यसैलाई हामीले आकाशमा कालो बादल लागेको भन्छौं ।

कालो बादलको तलतिर प्रशस्त मात्रामा पानीका थोपाहरू हुन्छन् भने माथिल्लो भागमा धेरै चिसो हुने भएकाले पानीका कणहरु असिना र हिउँ बन्छन् । जब बादलभित्र नै एक तह र अर्को तहको तापक्रममा धेरै अन्तर पर्दछ र तब बादलहरू यताउता उड्ने गति बढ्छ । जसको कारण बादलभित्र हुरीबतास चल्न थाल्छ । यसरी चलेको हुरीबतासले बादलभित्र घर्षण पैदा गर्ने हुँदा धनात्मक र ऋणात्मक विद्युतीय चार्ज उत्पन्न हुन्छ ।

बादलभित्रको हुरीबतास धेरै समयपछि बादलबाट बाहिरतिर निस्कन थाल्छ र आँधिबेहरी चल्न थाल्छ । घर्षणका कारणबाट चार्जहरू धेरै मात्रामा बनेपछि बादलमा भएका चार्जहरूको कारणले पृथ्वीमा पनि विपरीत किसिमका चार्जहरू उत्पन्न हुन्छन् । यसले वायुमण्डललाई आकस्मिक रूपमा तताइदिने गर्दछ । यसरी तातिएपछि वायुमण्डलको आयतन एक्कासी वृद्धि हुँदा ठूलो आवाज निस्कन्छ, जसलाई मेघ गर्जन भनिन्छ । त्यसैकारण चट्याङ पर्ने र मेघ गर्जन एकैसाथ हुने गर्छ ।

जब आकाशमा छिटो–छिटो बिजुली चम्कने र मेघ गर्जन थाल्छ, पृथ्वीमा हुरीबतास चल्न थाल्यो भने चट्याङको खतरा बढी हुन्छ । त्यससँगै विस्तारै पानी पनि पर्न थालेमा बादलबाट निस्कने हुरीबतास र वर्षासँगै बादलको घर्षणबाट उत्पन्न विद्युतीय चार्ज पनि बहन्छन् र आकाशबाट पृथ्वीसम्म आइपुग्छ । यस्तो बेलामा पानीमा भिज्ने व्यक्ति वा अन्य कुनै वस्तुलाई चट्याङको जोखिम बढी हुन्छ ।

नेपालको जोखिम क्षेत्र

चट्याङविद डा. श्रीराम शर्माका अनुसार नेपालमा झापाको दक्षिणपूर्व क्षेत्रदेखि नवलपरासीको चुरे क्षेत्रमा अत्यधिक चट्याङ पर्छ ।

चुरे क्षेत्रपछि रसुवा र नुवाकोटको त्रिशुली नदी आसपासको भूगोलदेखि नारायणी नदीको छेउ नवलपरासी–रुपन्देहीसम्म चट्याङको जोखिम क्षेत्र हुन् । चुरेपछि त्रिशुली नदी आसपासको क्षेत्रलाई पनि चट्याङको हिसाबले जोखिमयुक्त मानिन्छ ।

पूर्वी झापाको दक्षिणी भेगदेखि चुरे क्षेत्रको नवलपरासी–रुपन्देहीसम्म बढी चट्याङ पर्ने भएकाले यो क्षेत्रलाई ‘चट्याङ चिम्नी’को संज्ञा दिइएको छ ।

झापाको दक्षिण पूर्वी क्षेत्र बंगालको खाडी नजिक पर्दछ । बंगालको खाडीबाट आउने समुद्री बाफ झापाको पश्चिमी क्षेत्रसम्म आइपुग्छ । चट्याङ बाफमा नै बन्ने हुनाले झापा र त्यस आसपासको क्षेत्रमा बढी असर देखिएको अनुमान छ ।

चट्याङ कति खतरनाक हुन्छ ? कति टाढासम्म असर पर्छ ?

बादल एकअर्कासँग घर्षण भएर उत्पन्न हुने विद्युतीय करेन्ट निकै शक्तिशाली हुन्छ । एक वैज्ञानिक अध्ययन अनुसार एक चोटी चट्याङ पर्दा २० हजार एम्पिएर वा सोभन्दा बढी मात्रामा करेन्ट उत्पन्न हुने गर्छ ।

यो विद्युतीय झट्का कहिलेकाहिँ पृथ्वीसम्म आइपुग्छ । यो झट्काले जहाँ छुन्छ वा जो यसको नजिकमा हुन्छ त्यहाँ क्षति पुग्छ । मानिस वा अन्य प्राणीको मृत्यु हुने, अंगभंग हुने, रुखमा चिरा पर्ने आदि हुनुको कारण त्यही विद्युतीय करेन्ट हो । त्यसैले सबै चट्याङ खतरनाक हुन्छन् ।

यसको जोखिममा घर बाहिर भएकाहरु पर्छन् । त्यसैले बिजुली चम्किएको बेलामा वा गड्याङगुडुङ् गरेको बेलामा घर बाहिर निस्किनु हुँदैन ।

धेरै मानिसहरु चट्याङ टाढा परेको भन्ठानेर आफू सुरक्षित भएको ठान्छन् । तर, त्यसो होइन, यसको विद्युतीय शक्ति खतरनाक हुने भएकाले टाढा टाढासम्म पनि क्षति पुर्याउन सक्छ । भनिन्छ चट्याङले बिजुली चम्किएको १० माइल टाढासम्म पनि असर पुर्‍याउन सक्छ ।

घरभित्र बस्दैमा सुरक्षित भइन्छ ?

भनिन्छ, गड्याङगुडुङ् गरेको बेला वा बिजुली चम्किएको बेला घर बाहिर निस्किनु हुँदैन । तर के घरभित्रै बसिरह्यो भने सुरक्षित भइन्छ ?

हो, केही हदसम्म घरभित्रै बस्दा सुरक्षित भइन्छ । तर घरभित्र बस्दा पनि सुरक्षाका केही उपाय भने पालना गर्नु पर्छ । जस्तै रेडियो, टेलिभिजन, मोबाइल, कम्प्युटर, ल्याण्डलाइन टेलिफोन आदि चलाउनु हुँदैन । किनभने यस्ता विद्युतीय उपकरणहरुमा चट्याङले क्षति पुर्‍याउने खतरा हुन्छ । त्यसैले विद्युतीय उपकरणहरुलाई पूर्णरुपमा बन्द गरिदिनुपर्छ ।

चट्याङबाट जोगिने सरल उपाय

१. घर निर्माण गर्दा नै अनिवार्य रूपमा चट्याङ प्रतिरोधी प्रविधि व्यवस्था गर्नुपर्ने हुन्छ । यस्ता प्रविधिको सहायताले करिब ९० प्रतिशत जनधन सुरक्षा गर्न सकिन्छ ।

२. अनुभवी प्राविधिकको सहायताले घरमाथि तामा वा पाताको त्रिशूल राखेर वा तामाको रड राखेर त्यसलाई जीआई पाता वा आल्मुनियमको पाताले मोडेर जमिनसम्म पुर्‍याएर गाडिदिनुस् । त्यसमा घरको अर्थिङ लगेर जोडिदियो भने झन् राम्रो ।

३. तपाईं घरभित्र हुनुहुन्छ भने ल्याण्डलाइन टेलिफोन, मोबाइल, कम्प्युटर, ल्यापटप आदि प्रयोग नगर्नुहोस् किनभने यी विद्युतीय उपकरणमा चट्याङका कारण विद्युतीय प्रवाह हुन सक्छ ।

४. धातुका पाइपबाट बनेका धाराहरु पनि प्रयोग नगर्नुहोस् । यसमा पनि विद्युत प्रवाह हुन सक्छ । धातुका सामानबाट कम्तिमा पनि २० मिटर टाढा रहनुहोस् ।

५. पानीबाट पनि टाढा बस्नुहोस् । गड्याङगुडुङ गर्दै बिजुली चम्किरहेको छ र पानी पनि परिरहेको छ भने पानीमा नभिज्नुस् । स्विमिङ पुल, खोला, ताल भएका क्षेत्रबाट पनि टाढा ओत लागेर बस्नुस् ।

६. ओत लाग्ने ठाउँ छैन भने रुख, खम्बा वा अन्य धातुका सामानहरु नभएको खुल्ला ठाउँमा बस्नुहोस् । किनभने चट्याङ अग्ला वस्तुमा पर्ने सम्भावना बढी हुन्छ । रुखको ओत लागेर त झन् बस्नै हुँदैन ।

७. यदि तपाईं चट्याङ पर्न सक्ने स्थानको नजिकै हुनुहुन्छ भने भुइँमा घोप्टो परेर बस्नुहोस् । हातलाई घुँडाहरुमा राखेर टाउको त्यसको बिचमा राख्नुहोस् । जमिनलाई सकेसम्म थोरै छुनुहोस्, भुइँमै सुत्नुचाहिँ हुँदैन ।

८. गाडीभित्र हुनुहुन्छ भने गाडीभित्रै बस्नुहोस् । चट्याङ गाडीको धातुमा फैलियो भने पनि र टायरको माध्यमबाट अर्थिङ भएर जान्छ ।

९. विशेषगरी विद्युत प्रवाह गर्न सक्ने धातुका सामानहरुबाट टाढै रहनुहोस् । जस्तैः गल्फ क्लब, छाता, मोटरसाइकल, साइकल, तारबार आदि ।

१०. चट्याङ पछि पनि बन्द भएका विद्युत लाइन वा चुँडिएका तारहरुबाट टाढा हुनुहोस् ।

चट्याङ लागिहाल्यो भने के गर्ने ?

यदि कसैलाई चट्याङ लाग्यो भने उनीहरुको शरीर जलेको हुन सक्छ । चट्याङले मुटुलाई असर गर्छ । त्यसैले चट्याङ लागेको मानिसको मुटुको धड्कन छ कि छैन परीक्षण गर्नुहोस् ।

एम्बुलेन्स वा स्वास्थ्यकर्मीलाई खबर गर्नुहोस् र जतिसक्दो छिटो नजिकको अस्पतालमा लैजानुहोस् । एम्बुलेन्स वा स्वास्थ्यकर्मी आउनुभन्दा पहिले तपाई अरु चट्याङ पर्नबाट जोखिम छैन भन्ने सुनिश्चित हुनुहोस् ।

उनीहरुको मुटुले काम गर्न छोडेको छ भने सीपीआर अपनाउनुहोस्, तपाईंलाई इलेक्ट्रिक सक लाग्दैन । किनभने शरीरमा विद्युतीय चार्ज बसिराख्दैन ।

तस्वीरहरु : चन्द्रबहादुर आले/अनलाइनखबर

Write your Comment