

जनकपुरधाम। र्यापिड डायग्नोस्टिक टेस्ट (आरडीटी)मा पोजिटिभ रिपोर्ट आएका सप्तरीका २ जनाको पीसीआर रिपोर्ट भने नेगेटिभ आएको छ । २ हप्ताअघि भारतको दिल्लीस्थित निजामुद्दिनमा भएको तबलिकी जमातमा सहभागि भई नेपाल आएर आफ्नै घरमा बसिरहेका ७ जनालाई मंगलबार खोजी गरी आरडीटी परीक्षणका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो ।
अस्पतालमा गरिएको आरडीटी परीक्षणमा २ जनाको रिपोर्ट पोजिटिभ आएपछि सातै जनाको स्वाब संकलन गरी थप परीक्षणका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । धरानमा भएको पीसीआर परीक्षणमा सबैको रिर्पोट नेगेटिभ आएको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका मेडिकल सुपरिटेन्डेन्ट डा. चुमनलाल दासले जानकारी दिएका छन् ।
आरडीटी परीक्षणमा सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका १ जना र खडग नगरपालिकाका १ जनामा पोजिटिभ रिपोर्ट देखिएपछि दुवै स्थानीय तहमा आज बिहानबाट सिल गरिएको थियो । यसैबीच मंगलबार आरडीटी परीक्षण गरिएका ७ जनासँगै दिल्लीको तवलिकी जमातबाट आएका अर्का १ जना र अन्य २ जनाको बुधबार गजेन्द्रनारायण सिंह अस्पतालमा र्यापिड डायग्नोस्टिक टेस्ट गरिएको दुवै जनाको रिर्पोट नेगेटिभ आएको छ । पीसीआर रिपोर्टे नेगेटिभ आए पनि सबैलाई आइसलोसनमा राखिएको छ ।
रिपोट निगेटिभ आए पनि भारतको दिल्लीस्थित निजामुद्दिनमा भएको तबलिकी जमातमा सहभागि भएकाहरुको युद्धस्तरमा खोजी गर्नुपर्ने माग कडारूपले उठिरहेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार नेपालबाट पनि सयौँ व्यक्तिले त्यसमा सहभागिता जनाएका थिए । को–को सहभागी भएका थिए भन्नेबारे अहिले पनि नेपाल प्रहरीले खोजी गर्न सकेको छैन ।
सबैभन्दा ठूलो समस्या तिनीहरू लुक्ने गरेकाले भएको छ । सप्तरीमा पनि लुकेकै अवस्थामा प्रहरीले फेला पारी अस्पताल पुर्याएका थिए । लुकाउनेहरूलाई कारबाही नभएसम्म समस्या हल नहुने स्थानीयको भनाइ छ ।
यता नेपाल पत्रकार महासंघ सप्तरीका सभापति जितेन्द्र खड्गाले सप्तरीको डिमनस्थित जामा मस्जिदका मौलबी खट्टर मियाँ र सम्बन्धित वडा अध्यक्षलाई कडा कारबाहीको माग गरेका छन् । उनीहरूले ११ जना भारतीय जमातीलाई कैयौँ दिनदेखि आश्रय दिई लुकाई राखेर पूरै समाजलाई ठूलो खतरातर्फ धकेल्ने काम गरेको उनको आरोप छ ।
-shilapatra.com





Write your Comment