कोरोनाको जोखिमलाई बेवास्ता गर्दै सिरहामा जसपाको सभा

रातोघर

 १६ श्रावण २०७७, शुक्रबार १२:१८  मा प्रकाशित
२५७ पाठक संख्या



 

१६ साउन, जनकपुरधाम । कोरोना कहरबाट गुज्रिरहेको प्रदेश २ मा जनता समाजवादी पार्टी (जसपा)ले भिड जम्मा पार्दै पार्टी प्रवेश कार्यक्रम आयोजना गरेको छ ।

सिरहाको गोलबजार नगरपालिकाको चौहर्बामा बिहीबार आयोजना गरिएको पार्टी प्रवेश कार्यक्रममा दर्जनौंको उपस्थिति थियो । अग्रपंक्तिमा बसेकाले मास्कको प्रयोग गरे पनि बीचमा र पछाडि बसेका धेरैले मास्कको प्रयोग गरेका थिएनन् ।

पार्टी प्रवेश कार्यक्रमको नाममा सामाजिक दूरीको खिल्ली उडाएको देखियो । कार्यक्रमस्थलमा ठूलो मञ्च बनाइएको थियो भने मञ्च अगाडि ठूलो पण्डाल निर्माण गरिएको थियो ।

पण्डालभित्र सामाजिक दूरी पालन नगरी कुर्सीहरु राखिएका थिए । मञ्चमा आसिन नेताहरुले केही सामाजिक दुरी पालना गरेको देखिए पनि तल पण्डालभित्र बसेका कार्यकर्ताहरु भने एकअर्कासँग टाँसिएरै बसेका थिए । सरकारले लकडाउन खुला गरे पनि सभा सम्मेलन गर्न प्रतिबन्ध कायमै राखेको छ ।

पार्टी अध्यक्ष उपेन्द्र यादवले आफ्नो भाषणको समयमा कोरोना भाइरस सम्बन्धी चेतनामूलक भाषण ठोके । उनले संक्रमण हुन नदिन व्यवहारमा परिवर्तन गर्नुपर्नेदेखि संक्रमित भइहाले अस्पतालसम्म पुर्याउनुपर्ने धारणा राखे । सोही क्रममा उनले कुनै तयारी बिना नै सरकारले लकडाउन खोलेको आरोप लगाए । ‘सरकारले लकडाउन खोलेको छ, तर तयारी केही छैन’ उनले भने ।

यादवले एकात्मक र केन्द्रीकृत शाषण प्रणाली परिवर्तन हुनु ठूलो उपलब्धी भएको भन्दै यसलाई संस्थागत गर्दै अघि बढ्नुपर्ने समेत बताए ।

कार्यक्रममा पार्टीका नेता बाबुराम भट्टराईले कम्युनिष्ट श्रम गरेर खाने पार्टी भए पनि यहाँको कम्युनिष्ट चोरेर, ठगेर खाइरहेको आरोप लगाए । उनले भने, ‘कांग्रेस आफ्नै पापले थला परेको छ । कम्युनिष्ट अर्काको चोरेर, ठगेर खाइरहेका छन् ।’

कम्युनिष्ट सरकार भ्रष्टाचारमा लिप्त रहेको भन्दै उनले आफ्नो पार्टीले कतै पनि भ्रष्टाचार नगर्ने दावी गरे ।

कार्यक्रममा सहभागी अर्का नेता राजकिशोर यादवले सरकारको चरित्र ठीक नरहेको बताए ।

Onlinekhabar.com

Write your Comment