बाराको जीतपुर-सिमरामा निषेधाज्ञा तथा एक घर एक पीसिआर परिक्षणको माग

रातोघर

 १६ श्रावण २०७७, शुक्रबार १९:२६  मा प्रकाशित

बारा

जीतपुर-सिमरामा निषेधाज्ञा तथा एक घर एक पीसिआर
बारा । समुदाय स्तरबाट कोरोना संक्रमणको जोखिम बढेपछि बाराको जीतपुरसिमरा उपमहानगरपालिकामा निषेधाज्ञा जारी गर्नुका साथै एक घर एक पीसिआर परिक्षणको माग गरिएको छ ।

जिल्लामा कोरोना भाइरसको महामारी समुदायस्तरमा फैलेर उच्च जोखिम सृजना हुने देखिएकोले जीतपुरसिमरा सार्वजनिक सरोकार समितिले निषेधाज्ञा जारी गर्न नेपाल सरकार र स्थानीय प्रशासनसँग माग गरेको हो ।

सरोकार समितिको सिमरामा शुक्रवार सम्पन्न बैठकले यस्तो निर्णय गरेको हो । बैठकले यस क्षेत्रमा रहेका उद्योगहरुले कोरोना परिक्षण बिना नैं भारतबाट मजदुर ल्याएर उद्योग सञ्चालन गरेको र छिमेकी जिल्ला पर्सामा समेत निशेधाज्ञा जारी गरेको अवस्थामा त्यहाँ रहेका नागरीकहरु बाराका बजार तथा बैंक र वित्तीय संस्थाहरुमा कारोवार गर्न आउँदा यहाँ पनि संक्रमण फैलन सक्ने सम्भावना उच्च देखिएको समितिका संयोजक मनोज पौडेलले बताए ।

यस जिल्लामा निषेधाज्ञा जारी गरि एक घर एक पी.सि.आर परिक्षण गर्नका लागि नेपाल सरकार, स्थानीय प्रशासन र स्थानीय तहसँग जोडदार माँग गर्ने निर्णय गरिएको संयोजक पौडेलले जानकारी दिए ।

त्यसका साथै बैठकले सिङ्गो बारा जिल्लामा आइसियु र भेन्टिलेटरसहितको अस्पताल नभएको अवस्थामा सिमरा, पथलैयामा आइसियुसहितको सुविधा सम्पन्न कोरोना संक्रमितको उपचार हुँने गरी तत्काल अस्पताल सञ्चालनमा ल्याउन माग गरिएको उनले बताए ।

सरोकार समितिका संयोजक मनोज पौडेलको अध्यक्षतामा सम्पन्न बैठकमा छबिलाल शर्मा , कर्ण थापा, नारायण घिमिरे, राजु राज गिरी, रमेश सापकोटा, पेसल मुल्मी लगायतको सहभागिता रहेको थियो ।

Write your Comment