चीनबाट ल्याइएका जहाजहरु काम नलाग्‍ने अवस्थामा, भारतबाट नेपाल आइपुग्यो रेल

रातोघर

 २ आश्विन २०७७, शुक्रबार २०:४९  मा प्रकाशित
३७८ पाठक संख्या



 

काठमाडौं- चिनियाँ जहाजका कारण नेपाल वायुसेवा निगम तनावमा परेको छ । विशेषगरी ६ वटा चिनियाँ जहाजले निगमको तनाव बढाएको हो ।

विगत ५ वर्षदेखि नै निगमले यी सबै जहाज एकैपटक उडाउन सकेन । त्यसैले निगमले चिनियाँ जहाज बोझ बन्दै गएको ठहर गर्दै बिक्री गर्ने निष्कर्षमा पुगेको हो ।

तर, हालको कोभिड १९ ले नेपालसहित विश्वव्यापी अर्थतन्त्रमा पारेको असरका कारण यी जहाज बिक्री गर्न थप कठिनाइ हुने चिन्ता निगमलाई थपिएको छ ।

निगमको सञ्‍चालक समितिले आन्तरिक उडानका लागि चिनियाँ जहाज चलाउन नसकिने निष्कर्ष निकाल्दै व्यवस्थापनका लागि संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयलाई प्रस्ताव पठाइसकेको छ । सरकारस्तरबाट यी जहाज ल्याइएकाले यसको व्यवस्थापन पनि सरकारको निर्देशन निगमले कुरिरहेको छ । यी जहाज बिक्री गर्न अर्थ मन्त्रालयकोसमेत स्वीकृति लिनुपर्ने छ ।

पाँच वर्षदेखि नै ती चिनियाँ विमान चलाउन धेरै प्रयास गरे पनि निगम सफल हुन सकेन । ६ वटामध्ये दुईवटा भन्दा बढी जहाज कहिल्यै उडेनन् । उडान गर्न नसकेर ग्राउन्डमै राखे पनि आर्थिक व्ययभार थपिँदै गएको छ । यसरी चिनियाँ जहाज काम नलगाग्‍ने अवस्थामा त्रिभूवन विमानस्थलको ह्यांगरमा अड्किएका छन् ।

बंगलादेशलाई चिनियाँ रेलको टाउको दुखाई

नेपाललाई चिनियाँ जहाजले तनाव दिएजस्तै चिनियाँ रेलले बंगलादेशलाई टाउको दुखाईको विषय बनेको छ । बंगलादेश रेलवेले छोटो दूरीमा यात्रुहरूको लागि छिटो र आरामदायी यात्रा सुनिश्चित गर्न चीनबाट ल्याइएका ‘डेमु ट्रेन’ मार्फत सेवा सुरू गर्‍यो । तर यी रेलहरू अब रेल डिभिजनको लागि बोझ बनेका छन् ।

रेल अधिकारीका अनुसार यी डेमु ट्रेनले विगत पाँच वर्षमा १९.४० करोड कमाइ गरे भने यी रेलहरुको खर्च २५ करोड पुगेको छ । आम्दानीभन्दा डेढ गुणा खर्च भएपछि बंगलादेशलाई चिनियाँ रेल टाउको दुखाइको विषय बनेका हुन् ।

बंगलादेश रेलवे विभागका अनुसार चीनबाट ल्याइएको डिजेल इलेक्ट्रिक मल्टिपल एकाई (डेमू) का आधा भन्दा बढी ट्रेनहरू प्राविधिक ग्लिचका कारण काम नलाग्‍ने अवस्थामा पुगेका छन् । त्यस्ता रेलहरु मर्मत गर्न बंगलादेशको प्राविधिक क्षमता नभएको बंगलादेश रेलवे विभागले जनाएको छ ।

डेमू ट्रेनहरू पाँच वर्ष पहिले मात्र चीनबाट ल्याइएको थियो र रेल इञ्जिनियरहरुले अब यी ट्रेनहरुलाई धान्‍न सक्ने अवस्था नभएको बताएका छन् ।

बंगलादेश रेलवे इञ्जिनियरिङ विभागले डेमु ट्रेनहरू प्रायः जाडोमा प्रयोग गरिन्छ र तिनीहरू यात्रुहरूलाई छोटो दूरीमा लैजान सक्षम छन् । यद्यपि डेमू रेल छिटो र हल्का यात्राका लागि विदेशमा लोकप्रिय भए पनि बंगलादेशका लागि यो निकै खर्चिलो र धान्‍न नसक्‍ने अवस्था भएको बताएको छ ।

चीनबाट थप आयात गर्ने प्रस्ताव खारेज

डिजेल इलेक्ट्रिक मल्टिपल एकाई वा डेमू रेलले बंगलादेशलाई ठूलो संकटमा पारेको निष्कर्षसहित थप आयात गर्ने प्रस्थाव प्रधानमन्त्री शेख हसिनाले खारेज गरिदिएकी छन् । चिनियाँ डेम ट्रेनहरु बंगलादेशमा काम नलाग्‍ने भन्दै उक्त प्रस्ताव खारेज गरेकी हुन् ।

बुधवार ढाकामा हसिनाको अध्यक्षतामा राष्ट्रिय आर्थिक परिषद् वा एकनेकको कार्यकारी समितिको बैठकमा थप आयातसम्बन्धी प्रस्तावमा छलफल भएको थियो । “डेमु ट्रेनहरू चलाउन सकिँदैन । हामीले केही अन्य रेल आयात गर्नुपर्दछ,” योजना सचिव मो. नुरुल अमीनले बैठकमा भने ।

गाजीपुरको बंगबंधु हाईटेक पार्कबाट ढाकासम्म शटल रेलको प्रक्षेपण गर्न डेमू रेल किन्‍ने प्रस्ताव गरिएको बैठकमा उनले यस्तो बताएका हुन् । सचिवका अनुसार “पहिले खरिद गरिएका डेमु रेलहरू यात्रुहरूका लागि काममा आएनन् र तीमध्ये धेरैको बिग्रिएर ग्यारेजमा छन्,” सचिवले भने।

प्रधानमन्त्रीले पनि परियोजनाको सुधार र केही अन्य ट्रेनहरूको आयात गर्ने आदेश दिएकी छन् । उनले पनि ढाका-काल्याकोइर अफिस-घण्टाको ट्रेन बिना रोकतोक सञ्‍चालन गर्न आदेश दिएकी छन् ।

उनले ढाका-कमिला, अखाउरा-सिल्हट, लाल्मोनीरहट-परबोटिपुर, लकम-चट्टोग्राम र लकम-चन्दपुर मार्गमा डेमु ट्रेन सेवा बन्द गर्न बाध्य भएकोसमेत बताएका छन् । अधिकारीका अनुसार बाँकी १० सेट डेमु ट्रेनहरू ढाका-गाजीपुर, ढाका-नारायणगंज र दिनजपुर-पञ्चागर मार्गहरूमा सञ्चालनमा छन् ।

नेपालमा भारतबाट आइपुग्‍दै रेल

नेपालको इतिहासमा दोस्रो रेल्वेको रुपमा सञ्चालन भएको जयनगर (बिहार) देखि जनकपुरसम्म पहिलोपटक ब्रोडगेज लाइन नियमित हुन लागेको छ ।

न्यारोगेजमा सञ्चालन भइरहेको रेलसेवा बन्द भएको छ वर्षपछि शुक्रबार पहिलोपटक ब्रोडगेज लाइनमा यात्रुवाहक रेल जयनगरबाट जनकपुर आएको हो ।

नेपाली भूमिमा पहिलो पटक विसं १९८४ मा रेल चलेको थियो । तत्कालीन बेलायती सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ३९ किलोमिटर रेलवे निर्माण गरी सेवा सञ्चालनमा ल्याएको थियो । उक्त समयमा तराईका यस भेकका मानिसले अमलेखगन्जबाट भीमफेदी हुँदै काठमाडौंसम्म पुग्‍न पैदल यात्रा गर्थे । उक्त रेलसेवा विसं २०२२ मा बन्द भयो ।

नेपालमा पहिलो रेल सञ्चालन भएको ठीक १० वर्षपछि अर्थात् विसं १९९४ सालमा दोस्रो रेलका रुपमा बिहारको जयनगरबाट जनकपुर हुँदै महोत्तरीको बिजलपुरासम्म ५२ किलोमिटर सञ्चालन भयो । दुवै रेल स्टिम (कोइलाबाट चल्ने) इन्जिनले सञ्चालन भइरहेको थियो ।

जयनगर-जनकपुर-बिजलपुरा रेलवे तत्कालीन बेलायती सरकारले नेपाली भूमिबाट जडीबुटी र काठ ओसार्न निर्माण गरेको थियो । उक्त मालवाहक रेलमै कामदार चढ्न डब्बा (बोगी) पनि बनाइएको थियो । यस क्षेत्रका जंगल मासिएपछि सोही रेल यात्रुवाहक रुपमा सञ्चालन हुन थाल्यो ।

सुरुमा कोइलाबाट चल्ने उक्त रेलको इन्जिन फेरेर डिजलबाट चल्ने बनाइयो । ६ वर्ष अघिसम्म धनुषाको दक्षिणी भेगलाई भारतीय बजार जयनगरसँग जोड्न र जिल्लाको पूर्वी क्षेत्रलाई धनुषाको सदरमुकाम जनकपुरसँग जोड्न एकमात्र भरपर्दो साधनका रुपमा उक्त रेलसेवा सञ्चालन भइरहेको थियो ।

Write your Comment