बारामा एक महिनामा ३२ लाख नक्कली रुपैयाँ बरामद

रातोघर

 ८ आश्विन २०७७, बिहीबार २१:३५  मा प्रकाशित
४४ पाठक संख्या


 

बारा । बारा प्रहरीले एक महिनामा ३२ लाख नेपाली रुपैयाँ सवारी साधन चेकजाँच गर्ने क्रममा बरामद गरेको प्रहरीले जनाएको छ । प्रहरीले सिम्रौनगढ नगरपालिका वडा नम्वर ९ स्थित बँसवरीया नहरखण्डमा बुधवार नगद १६ लाख १२ हजारसहित दुई जनालाई पक्राउ गरेको हो ।

चोरीको मोबाइल खरिद बिक्री भएको सुचनाको आधारमा चेक जाँच गर्दा बारागढि गाउँपालिका वडा नम्वर ५ सिहासनीका २३ वर्षीय बलिराम चौधरी र छिमेकी राष्ट्र भारत विहार मोतिहारी जिल्ला झरोखरका २७ वर्ष संदिप कुमारको साथमा उक्त रकम बरामद गरिएको प्रहरी उपरिक्षक कृष्ण पंगेनीले जानकारी गराएका छन् ।

सवार दुवै जना सवार रहेको बा. ६४ प ९७०६ नं. को एफ जेढ मोटरसाइकलको खानतलासी गर्दा कुमारले बोकी रहेको पहेलो झोला भित्र रातो प्लास्टिकमा लुकाई राखेको अवस्थामा एक हजारको एक हजार ६ सय १२ थान नक्कली नेपाली नोट बरामद गरिएको उनले बताए ।

पक्राउ परेकाहरुसँग बुझदा निजहरुले उक्त नोटहरु मोबाइल बिक्री गरी प्राप्त भएको र मोबाइल खरिद गर्ने व्यक्तिहरूले उक्त नोटहरू दिई ३० थान मोबाइल लिई फरार भएको बयान दिएको प्रहरी उपरिक्षक पंगेनीले बताएका छन् । बरामद गरिएको नक्कली नोटसहित दुवै जनालाई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । नक्कली नोटहरू दिई मोबाइल लिई भागी फरार रहेका मानिसहरूको खोजतलास गर्ने कार्य तिव्र रुपमा भइरहेको छ ।

गत भदौ ६ गते महागढीमाई नगरपालिका ७ बेनौली चौकमा सवारी साधन रोकेर चेकजाँच गरेको देखेर मोटरसाइकलमा आएका एक जनाले रातो झोला फालेर भाग्न सफल भएको र फालिएको झोलाबाट १६ लाख नक्कली रकम बरामद गरिएको बाराका प्रहरी उपरीक्षक पगेनीले बताएका छन् ।

झोला भित्र सात सय ६२ थान हजार र १६ सय ७६ थान पाँच सयको गरेर १६ लाख नेपाली रुपैयाँ रहेको उनले बताए । रकम फालेर भाग्ने मानिसलाई खोज तलास गर्ने कार्य शुरु गरिएको पगेनीले बताए । फालिएको रकम तस्करी गर्न वा हुण्डीको हुन सक्ने अनुमाग गरिएको प्रहरीले जनाएको छ । लकडाउनको मौका छोपी नक्कली रकमको कारोवार गर्ने गिरोह सक्रिय रहेको बेला प्रहरीको तैनाथीले गर्दा नक्कली कारोवारीमा हडकंप मचेको छ ।

Write your Comment