

वीरगञ्ज ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले वीरगञ्जस्थित नारायणी अस्पताललाई कूल बेड सङ्ख्याको १० प्रतिशत बेड नि:शुल्क रूपमा गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारलाई छुट्ट्याउन निर्देशन दिएको छ
स्वास्थ्य मन्त्रालयले एउटा परिपत्र जारी गर्दै नारायणी अस्पतालसहित देशभरका १६ वटा स्थानीय, प्रादेशिक र सङ्घीय स्तरका सामुदायिक तथा निजी अस्पतालहरूलाई कूल बेड सङ्ख्याको १० प्रतिशत बेड गरिब, विपन्न, बेवारिसे तथा असहायहरूको उपचारलाई छुट्ट्याउन निर्देशन दिएको हो ।
परिपत्र अनुसार नारायणी अस्पतालले अब कूल बेड सङ्ख्याको १० प्रतिशत अर्थात् २ सय ५५ बेड गरिबविपन्न, बेवारिसे तथा असहायहरूको उपचारका लागि छुट्ट्याउनु पर्ने हुन्छ ।मन्त्रालयले हालसम्म देशभरिका १६ वटा अस्पताललाई यसै गरी निःशुल्क बेड छुट्ट्याउन निर्देशन दिएको छ ।
अस्पतालले अहिलेसम्म ३ हजार ५ सय २३ बेड निःशुल्क गरिसकेको बुझिएको छ । वीर अस्पतालले ७००, कान्ति बाल अस्पतालले २४८, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ६०, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालले ४५० र राष्ट्रिय ट्रमा सेन्टरले १५० वटा बेड छुट्ट्याएका छन् ।
त्यसै गरी, शहीद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रले ९०, मानसिक अस्पताल ललितपुरले ४०, कोशी अस्पतालले ३३०, गजेन्द्र नारायण अस्पतालले १००, भरतपुर अस्पतालले ४२०, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले ३००, भेरी अस्पतालले ५०, डडेलधुरा अस्पतालले ३०, रापती स्वास्थ्य विज्ञान प्रतिष्ठानले १५० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५० वटा बेड निःशुल्क उपलब्ध गराइएको छ ।





Write your Comment