

जनकपुरधाम ।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ ले स्थानीय तहहरुले असार १० गते नै नगरसभा/गाउँसभामा बजेट पेस गरिसक्नुपर्ने प्रावधान छ । तर, मधेस प्रदेशका अधिकांश स्थानीय तहले अझै बजेट ल्याएका छैनन् । कतिपयले आन्तरिक विवादका कारण सभामा ल्याइसकेको बजेट पारित गर्न सकेको छैनन् ।
मधेस प्रदेशको आठ वटा जिल्लामा १ सय ३६ स्थानीय तह छन् । जसमध्ये ७५ स्थानीय तहले मात्रै बजेट ल्याएका छन् भने ६१ स्थानीय तहले अझै बजेट नगरसभा/गाउँसभामा पेस गरेका छैनन् ।असार १० गते नगरसभा/गाउँसभामा पेस गरेर असार २५ गतेभित्र पारित गरिसक्नुपर्नेमा असारमसान्तसम्म पनि ५६ वटा स्थानीय तहले मात्रै बजेट पारित गर्न सकेका छन् । सप्तरीका १८ वटा स्थानीय तहमध्ये ७ वटा स्थानीय तहले मात्र बजेट नगरसभा/गाउँसभा गरी बजेट पेस गरेका छन् ।
सिरहामा १७ वटा स्थानीय तह रहेकोमा १० वटा स्थानीय तहले बजेट ल्याएपनि असार २५ गतेभित्र ८ वटा स्थानीय तहले मात्रै बजेट पारित गर्न सकेका छन् । जिल्लाका विष्णुपुर तथा भगवानपुर गाउँपालिकाले गाउँसभामा समयमै बजेट पेस गरेपनि अझै पारित गर्न सकेको छैनन् ।
अबको एक दुई दिनभित्रै गाउँसभाबाट पारित गरिसक्ने सिरहा विष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश प्रसाद यादवले बताए ।‘असारमसान्त थियो, अलिक बढी नै व्यस्तता भयो । त्यसैले, पारित गर्न सकिएन,’ अध्यक्ष यादव भन्छन्, ‘असारकै मिति राखेर अबको एक दुई दिनभित्रै बजेट पारित गरिहाल्ने हो।’अध्यक्षजी काठमाडौं जानुभएको छ । त्यसैले, बजेट पारित हुन नसकेको भगवानपुर गाउँपालिकाकीउपाध्यक्ष रेखादेवी यादवले बताईन् । उनका अनुसार गाउँपालिकाका अध्यक्ष उग्र नारायण यादव काठमाडौंबाट फर्केपछि बजेट पारित हुनेछ ।





Write your Comment