

सिमरा ।
बाराको जीतपुरसिमरा उपमहानगरपालीकाले दरवन्दी मिलानको तयारी शुरु गरेको छ । शिक्षक दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७९ लाई कार्यान्वयन गर्नेगरी दरवन्दी व्यवस्थापनको कार्य सुरु गरेको हो ।
प्रारम्भिक चरणमा उपमहानगरले सो कार्यविधिको परिच्छेद ४ को नियम ७ को उपनियम २ र ३ अनुसार सामुदायिक विद्यालयहरुको मा.वि., नि.मा.वि. र प्रा.वि. मा कार्यरत शिक्षकहरुले एक बिद्यालयबाट अर्को विद्यालयमा दरवन्दी मिलान भई जान चाहनेका लागी बाटो खोलेको छ ।
नव नियुक्त भएर आएका शिक्षकदेखी १५/२० वर्षसम्म एउटै विद्यालयमा कार्यरत शिक्षकहरुलाई प्राथमिकतामा राखेर दरवन्दी व्यवस्थापन गरिने उपमहानगरका शिक्षा शाखा प्रमुख हरिस भट्टले जानकार दिए ।
उनका अनुसार २/३ वर्षदेखी सेवा शुरु गरेका शिक्षकहरुलाई पनी निवेदन दिए पायक पर्ने वा स्वैच्छिक रुपमा दरवन्दी हेरफेर गर्न सकिने र धेरै वर्षदेखी एउटै विद्यालयमा कार्यरत शिक्षकहरुको पनी पायक पर्नेगरी बिद्यालय हेरफेर गरिने छ ।
यसैगरी बिषयगत् दरवन्दी व्यवस्थापनलाई समेत प्राथमिकतामा राखिएको भन्दै एउटै विद्यालयको एउटै तहमा समान बिषयका एक भन्दा वढी दरवन्दी भए सो दरवन्दीलाई मिलान गरी विषय हेरफेर गरिने कार्यपनी प्राथमिकतामा रहेको भट्टको भनाई छ ।
त्यस्तै नगरमा शिक्षकको दरवन्दी नै नभएका बिद्यालयलाई पनी कम्तिमा एउटा स्थाई दरवन्दी मिलान गर्न खोजिएको छ ।
प्रारम्भिक चरणमा शिक्षकहरुले स्वैच्छिक रुपमा विद्यालय परिवर्तन गर्न पाउनेछन् । सुचना अनुसार त्यसरी जान चाहने शिक्षकहरुले ५ वटा विद्यालय प्राथमिकताका आधारमा छनौट गरी निवेदन दिनुपर्ने छ ।
साउन १७ गतेसम्म यो व्यवस्थामा स्वैच्छिक रुपमा दरवन्दी मिलान गर्न खोजेको उपमहानगरले दोश्रो चरणमा नगरका सवै बिद्यालयहरुको दरवन्दीलाई व्यवस्थापन गर्ने गरी शिक्षक हेरफेर गर्नै तयारी गरिरहेको छ ।
यता, दरबन्दी मिलान तथा व्यवस्थापन कार्यविधि २०७९ अनुसार एउटै बिद्यालयमा पाँच वर्षभन्दा वढी सेवा पुरा गरेका शिक्षकहरुलाई अनिवार्य रुपमा क्रमश दरवन्दी मिलान तथा व्यवस्थापन गर्ने व्यवस्थालाई पनी यसै वर्षदेखी कार्यान्वयनमा ल्याउन उपमहानगरले गृहकार्य गरिरहेको छ ।
उपमहानगर प्रमुख राजन पौडेलले शिक्षकहरुको मनोवल उच्च राखी सेवामा प्रभावकारीता ल्याउन तथा शिक्षकवर्गको कार्यक्षमतामा वृद्धि गर्न पाँच वर्षमा शिक्षकलाई विद्यालय परिवर्तन गर्न जरुरी रहेको बताए ।
उपमहानगरले दरवन्दी व्यवस्थापन संगै प्रधानाध्यापक छनौटको बिषयमा पनी प्रधानाध्यापकसंगै छलफल कार्यक्रमको आयोजना गरेको छ । प्रधानाध्यापकलाई प्रतिस्पर्धाका आधारमा छनौट गर्नै विषयमा पनी गम्भिर बनेको उपमहानगरले शिक्षा क्षेत्रलाई सुधारको केन्द्रविन्दुको रुपमा लिएको छ ।






Write your Comment