

वीरगञ्ज ।
मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गरिएको छ । नेकपा एमालेले मधेसका मुख्यमन्त्री सरोजकुमार यादवलाई पाँच बुँदे ज्ञापन पत्र बुझाउँदै मधेस प्रदेशलाई सुख्खा क्षेत्र घोषणा गर्न माग गरेको हो ।एमालेका प्रदेश प्रमुख सचेतक लखनदास तत्मा नेतृत्वको टोलीले ज्ञापन पत्र बुझाउँदै मधेसमा देखिएको खडेरीको समस्याप्रति सरकारको ध्यानाकर्षण गराएको हो ।
ज्ञापन पत्रमा मधेस प्रदेशलाई तत्काल सुख्खा क्षेत्र घोषणा गरी पीडित किसानहरुलाई राहत र क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने माग गरिएको छ । यस्तै, हाल पशुमा महामारीको रुपमा फैलिएको लम्पी स्किन रोग निदान तथा नियन्त्रणको लागि प्राविधिकहरु परिचालन गरी खोपको व्यवस्था गर्नुपर्ने साथै मृत पशुधनीहरुलाई क्षतिपूर्तिको व्यवस्था गर्नुपर्ने ज्ञापनमा उल्लेख छ ।
मधेस प्रदेश सरकारले प्रदेशभरका किसानहरुका लागि उन्नत बिउविजन, सिँचाई तथा मलखाद सरल र सहज उपलब्धताको सुनिश्चित गर्न पनि ज्ञापनपत्र मार्फत माग गरिएको छ ।त्यस्तै, कृषि विद्युतीकरणसँग आवद्ध किसानहरुका लागि चौबीसै घण्टा विद्युत आपूर्तिको व्यवस्था हुनुपर्ने र राहतस्वरुप यस वर्षको विद्युत महसुल प्रदेश सरकारले तिरिदिनुपर्ने माग छ । प्रमुख सचेतक दासको ज्ञापनपत्र बुझ्दै मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेशमा किसानका समस्या निकासमा ध्यान दिने प्रतिक्रिया दिए ।





Write your Comment