वीरगञ्जमा नेविसंघको प्रदर्शनमा झडप, ३ जना पक्राउ

रातोघर

 २०७७ श्रावण २६, सोमबार  मा प्रकाशित
३०९ पाठक संख्या


 

२५ साउन, वीरगञ्ज । निषेधाज्ञा उलंघन गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) ले पर्सामा जिल्ला प्रशासन कार्यालय अगाडि प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको छ ।

प्रहरीले नेविसंघका विकास तिवारी, शेख हजरा र मनोज साहलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालयको गेट अगाडि केहीबेर नेविसंघ कार्यकर्ता र प्रहरीबीच झडप भएको थियो ।

वीरगञ्जमा सर्वसाधारणले उपचार नपाएर मर्नुपरेको भन्दै नेविसंघले ६ बुँदे माग राखेर धर्ना दिएको थियो । ‘वीरगञ्जमा उपचार नपाएर अनाहकमा ६ जना जतिको ज्यान गईसकेको छ । जनस्वास्थ्यमा लापरबाही गर्ने निकायलाई कारबाही गर्नुको साटो प्रशासन मौन छ’ उनले भने ‘ त्यसैले शान्तिपूर्ण रुपमा प्रशासन घेर्न गएका हौं, तर एक्कासी प्रहरी आएर लाठीचार्ज गर्नुको साथै पक्राउ गरेर ल्याएको छ ।’

नारायणी अस्पताललाई जनरल सेवा सुविधासहित सर्वसाधारणलाई खुल्ला गर्नुपर्ने, अस्पतालहरुले भर्ना नगर्दा उपचार नपाएर मृत्यु भएकाका परिवारलाई न्याय तथा उचित क्षतिपूर्ति दिनुपर्ने, दोषी अस्पताललाई कडा भन्दा कडा कारबाही गर्नुपर्ने, कोरोना महामारीका कारण कमाई गर्न नसक्ने गरिब तथा सर्वसाधारणलाई राहतको व्यवस्था गर्नुपर्ने र कोरोनाको भयावह स्थितिलाई सामान्य बनाउन उचित स्वास्थ्य सामाग्री, चिकित्सक, सेवा सुविधाको व्यवस्था गर्नुपर्ने नेविसंघले माग गरेको छ ।

प्रशासन कार्यालयमार्फत स्वास्थ्य मन्त्रालयमा ज्ञापनपत्र बुझाउने तयारी गरेपनि उनीहरुले प्रमुख जिल्ला अधिकारीसँग समय भने नलिएका प्रशासन कार्यालयले बताएको छ ।

पर्साका प्रहरी प्रवक्ता डीएसपी मनोजीत कुँवरले जिल्ला प्रशासन कार्यालय घेराउ गर्न गएका समूहका तीन जनालाई नियन्त्रणमा लिएको बताए । निषेधाज्ञा उलंघन गर्दै ठूलो संख्यामा भेला भएकोले उनीहरुलाई तितर बितर बनाउन लाठीचार्ज पनि गरेको उनको भनाइ छ ।           online khabar.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban