

सप्तरी । विद्यालयको फलामे ढोकाले किचिएर एक ११ वर्षीय बालकको ज्यान गएको छ । सप्तरीको रुपनी गाउँपालिका ४ छप्की भतौलस्थित आधारभुत विद्यालय प्रवेशद्वारको फलामे ढोका झरेर किचिँदा सोही विद्यालयका कार्यालय सहयोगि चन्द्रशेखर प्रमाणिका ११ वर्षीय छोरा उपेन्द्रको शनिबार राती ज्यान गएको हो ।
लकडाउनका कारण विद्यालय बन्द रहेकाले हाल उनी बुबासँगै सोही विद्यालयमा बस्दै आएका थिए । टाउँको र छातीमा गहिरो चोट लागि गम्भिर घाइते भएका उनलाई उपचारका लागि युनिक अस्पताल पु-याउँदा चिकित्सकले मृत्यु घोषित गरेका थिए ।
स्थानियका अनुसार शनिबार दिउँसो वडा अध्यक्ष छेदी रजकले नेकपा वडास्तरिय भेलाको आयोजना गर्न उक्त विद्यालय प्रयोग गरेका थिए । कार्यक्रम अबेर साँझसम्म चलेको थियो । कार्यक्रमका सहभागिहरु कार्यक्रम सकाएर फर्किए पनि ढोका भने खुल्लै छाडेका थिए । ढोका खुल्ला देखेपछि विद्यालयमै रहेका उपेन्द्र ढोका लगाउन गएका थिए । सोही क्रममा अचानक ढोका उनको शरीरमा झरेर सो दुर्घटना भएको प्रहरीले जनाएको छ ।
गाउँपालिकाका अध्यक्ष हरेराम यादवले दुई महिनाअघि मात्र विद्यालयको प्रवेशद्वारमा उक्त ढोका जडान गरिएको आफूलाई जानकारी प्राप्त भएको बताए । ‘ढोका जडान गर्ने र गराउने तथा विद्यालयमा कार्यक्रम गरी ढोका खुल्लै छाडी हिड्ने दुबै पक्षको लापरवाही देखिएको छ’, उनले भने । डिएसपी तिलक भारतीले मृतकको शव पोष्टमार्टमका लागि गजेन्द्र नारायण सिंह अस्पताल पु¥याई घटनाबारे आवश्यक अनुसन्धान भइरहेको बताएका छन् ।





Write your Comment