

वीरगञ्ज ।
अनधिकृत रुपमा डिप बोरिङ्ग जडान कार्य बन्द गर्न वीरगञ्ज महानगरपालिकाले सूचना जारी गरेको छ । पछिल्लो समय वर्षा नहुँदा बढ्दै गएको खानेपानीको समस्यालाई मध्यनजर गर्दै महानगरपालिकाले यस्तो सूचना जारी गरेको हो ।
वीरगञ्जसहित महानगर क्षेत्रभित्र विभिन्न वडाहरुमा अनधिकृत रुपमा ईजाजत नलिई जथाभावी डिप बोरिङ्ग जडानको कार्य भइरहेकोप्रति महानगरपालिकाले आपत्ती जनाएको छ ।
ईजाजत बिना नै भइरहेको डिप बोरिङ्ग जडानको कार्य तत्काल रोक्न पनि महानगरले सोही सूचनामार्फत आग्रह गर्दै महानगरपालिकासँग स्वीकृत लिएर मात्रै डिप बोरिङ्ग गर्नुपर्ने सूचनामा उल्लेख छ ।
अनुमति बिना जथाभावि रुपमा डिप बोरिङ्ग जडान गर्ने कार्य भएको पाइएमा त्यस्तो कार्य गर्ने र गराउने दुबै पक्षलाई महानगरपालिकाले कारबाही गर्ने पनि उक्त सूचनामार्फत चेतावन दिइएको छ । पछिल्लो केही समय यता वीरगञ्जसहित तराईका क्षेत्रमा पानीको हाहाकार भएको छ ।
यसले गर्दा कतिपयले अनधिकृत रुपमा डिप बोरिङ्ग गरीरहेका छन् । डिप बोरिङ्गले जमिन मुनीको पानी रित्तिने र जमिन भासिने समस्या आउन सक्ने भएकाले यस्ता गतिविधिलाई रोक्नुपर्नेमा महानगरको सूचना मात्रै प्रभावकारी नहुन सक्छ । यसर्थ सूचनासँगै अनुगमन र सूचना विपरित काम भएको पाइएमा कारवाही गर्न पनि आवश्यक छ ।





Write your Comment