परवानीपुर- २ का वडाध्यक्षको कुटाइबाट युवक घाइते

रातोघर

 २०८० श्रावण १२, शुक्रबार  मा प्रकाशित
४१३ पाठक संख्या


बारा ।

बाराको परवानीपुर गाउँपालिका– २ रामपुर टोकनीका वडाध्यक्ष डेब्बा भन्ने नोरुलहोदा अन्सारी र उनका आफन्तजनको कुटाइबाट स्थानीय युवा सन्दीप रायभर घाइते भएका छन्।

विगत केही महिनाअगाडि सामाजिक सञ्जालमा वडाको विकासलाई लक्षित गरी विरोधमा लेखेकै भरमा बिहीबार साँझ युवा रायभर कुटिएका हुन्। वडाध्यक्ष अन्सारीलगायतको समूहको आक्रमण परेका रायभरको खुट्टा र पिठ्युँमा चोट लागेको छ। उनी वीरगन्ज बिर्तास्थित मेट्रो अस्पतालमा उपचाररत छन्।

फेसबुकमा विरोध गर्दैमा घरपरिवारका व्यक्ति लगाएर सांघातिक आक्रमण गरी कुटपिट गर्नु न्यायोचित नभएको गाउँपालिकाका पूर्वअध्यक्ष हरिनारायण साहले बताए। उनले वडामा विकास भएको र गुणस्तरीय नभएको सामाजिक सञ्जालमा लेखेर विरोध गर्दैमा कुटिनु जनप्रतिनिधिको गुन्डागर्दी शैली भएको प्रतिक्रिया दिए।

यस विषयमा वडाध्यक्ष अन्सारीसँग बुझ्दा केही महिनादेखि पूर्वाग्रही भएर सामाजिक सञ्जाल फेसबुकमा वडा नम्बर २ को कार्यालय र उनको बारेमा अनावश्यक अभिव्यक्ति लेख्दै आएकोमा सोधपुछ गर्दा झगडा भएको र लछारपछार हुँदा उनको खुट्टा र पिठ्युँमा चोट लागेको बताए।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban