

बसन्त खतिवडा
बारा , बैशाख
छिमेकी जिल्ला पर्सा र रौतहटमा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि निजगढ नगरपालिकाले सतर्कता बढाएको छ ।
कोरोना भाइरस विपद न्यूनीकरण समन्वय तथा अनुगमन समिति निजगढका संयोजक मेयर सुरेशकुमार खनालको सभापतित्वमा सम्पन्न बैठकले नगर बाहिरबाट आयात हुने खाद्यान्न, तरकारी, माछामासु तथा अन्य सामग्रीमा बन्देज लगाउने निर्णय गरेको छ ।
कोरोना भाइरस संक्रमित क्षेत्र भारत, बीरगञ्ज लगायत अन्य क्षेत्रबाट निजगढ भित्र खाद्यान्न, तरकारी, माछामासु तथा अन्य सामग्रीहरु आयात हुने भएकाले कोरोना भाइरस भित्रिने सम्भावना औल्याउँदै तत्कालका लागि आयातमा प्रतिबन्ध लगाएको निजगढका मेयर सुरेशकुमार खनालले बताउनुभयो ।
नगर भित्र आवश्यक खाद्यान्न नगर भित्रबाटै परिपूर्ति गर्ने गरी नगरपालिकाले कृषकहरुलाई आवश्यक सहयोग गर्नेछ । निजगढ कृषि क्षेत्र भएकाले यसको लागि खासै समस्या उत्पन्न नहुने समितिका सदस्य रविकुमार बर्तौलाले बताउनुभयो ।
यसैगरी नगर भित्र दुईजना भन्दा बढि जम्मा हुन नदिने समेत बैठकले निर्णय भएको छ । अत्यावश्यक काम बाहेक दुईजना भन्दा बढी व्यक्तीहरु एकै ठाउँमा भेला हुन नदिने बैठकले निर्णय गरेको हो ।
News24





Write your Comment