

जनकपुर ।
कोराना महामारी नियन्त्रणका लागि सरकारले घोषणा गरेको लकडाउनका कारण समस्यामा परेका गरिब तथा दैनिक ज्यालादारीका मजदुरहरुको लागि प्रदेश सरकारले दोस्रो चरणको राहत प्याकेज घोषणा गरेको छ ।
मन्त्रिपरिषदको आज सम्पन्ने बैठकले लक्षित परिवारको घरमा सोझै राहत पु¥याउने गरी दोस्रो चरणको राहत प्याकेजको घोषणा गरेको हो ।
पहिलो चरणमा प्रदेश सरकारले स्थानीयतह मार्फत राहत वितरणको कार्यक्रम ल्याएपनि कतिपय स्थानीय तहले राहत वितरण गर्न नसकेको जनगुनासोलाई मध्य नजर गर्दै प्रदेश सरकारले पीडित परिवारलाई वडा कार्यालयको समन्वयमा सोझै घरमै राहत पु¥याउने योजना ल्याएको छ ।
स्थानीय तहहरुले प्रदेश सरकारलाई बुझाएको पीडित परिवारहरुको सूचीका आधारमा प्रदेश सरकारले जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय मार्फत राहत सामग्री खरिद गरी प्याकेट तयार गरेरै सूचीसहित वडालाई जिम्मा लगाउने र वडाले प्याकेट प्राप्त गरेको २४ घण्टा भित्र सम्बन्धित परिवारको जिम्मा लगाउने प्रावधान राखिएको छ ।
स्थानीय तहले बुझाएको लिष्टमा कुनै समस्या देखिए जिल्ला विपद व्यवस्थापन समिति र प्रदेश सभा सदस्यहरुले छानविन गरि वास्तविक पीडितको पहिचान गरिने व्यवस्था समेत गरिएको छ ।
त्यसैगरी मन्त्रिपरिषदको बैठकले कोरोना महामारी नियन्त्रणको लागि आवश्यक उपकरणहरु खरिद गर्न ६८ करोड रुपैयाँ निकासा गरेको छ । सो रकमले थप पीसीआर मेसिनसहितका अन्य उपकरणहरु खरिद गरिने जनाएको छ ।
त्यसैगरी मन्त्रिपरिषदले नारायणी उपक्षेत्रीय अस्पताललाई कोरोना विरामीहरुको उपचारका लागि आवश्यक व्यवस्था गर्न ५० लाख रुपैया दिने निर्णय समेत गरेको छ ।
-shilapatra.com





Write your Comment