सप्तरीमा थपिए ७ जना कोरोना संक्रमित थप सामग्री

रातोघर

 २०७७ जेष्ठ २४, शनिबार  मा प्रकाशित
४५२ पाठक संख्या


जनकपुरधाम । सप्तरीको बालन विहुल गाउँपालिकाका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परीक्षणमा थप ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

उनका अनुसार संक्रमित हुनेमा २ महिला र ५ पुरुष रहेका छन् । उनीहरू केही दिनअघि भारतबाट आएका थिए ।

यो सँगै सप्तरीमा संक्रमितको संख्या ७७ पुगेको छ ।

१५ जनाले जिते कोरोना  

प्रादेशिक अस्पताल जनकपुरधाम अन्तर्गत रहेको कोरोना विशेष अस्पतालबाट १५ जनाले कोरोना जितेका छन् । ९ जेठमा कोरोना पुष्टि भएर अस्पतालमा भर्ना भएका १४ पुरुष र १ महिलाले कोरोना भाइरस जितेका हुन् ।

धनुषा, महोत्तरी, सर्लाही र भारत बिहार मधवापुरका संक्रमित घर फर्केको प्रादेशिक अस्पताल जनकपुरका चिकित्सक डा. कुलदीप पण्डितले जानकारी दिए । उनका अनुसार ७ जना नेपाली र ८ जना भारतीय नागरिक घर फर्केका छन् ।

डिस्चार्ज हुनेमा १८ वर्षदेखि ४५ वर्षका व्यक्ति रहेको डा. पण्डितले बताए । डिस्चार्ज गरिएकाहरूमा कोरोना भाइरस सम्बन्धी कुनै पनि लक्षण नदेखिपछि दोस्रो र तेस्रो पटक स्वाब लिएर १४ दिनमा घर पठाइएको डा. पण्डितले जानकारी दिए ।

प्रादेशिक अस्पताल जनकपुरधामबाट कोरोना संक्रमित भएर आएकामध्ये २३ जना घर फर्किसकेका छन् । अस्पतालमा अहिले १ महिलासहित १४ जना कोरोना संक्रमितहरू रहेका छन् ।

कोरोनाको कुनै पनि लक्षण नदेखिएपछि नेपाल सरकारको स्वास्थ्य निर्देशिका अनुसार सबैलाई डिस्चार्ज गरिएको हो । प्रदेश २ मा हालसम्म १९ हजार ९ सय ५९ थ्रोट र नोजल स्वाब परीक्षणबाट ९ सय ९३ जना संक्रमित भेटिएको सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले बताए ।

संक्रमितमध्ये रौतहटका ३ सय ९०, सर्लाहीका १ सय ४९, पर्साका १ सय १४, धनुषाका ९२, बाराका ७०, सप्तरीका ६९, महोत्तरीका ५२ र सिरहाका ४७ जना रहेका छन् । जसमध्ये १ सय २३ जना कोरोना संक्रमित उपचारपछि निको भएर घर फर्किसकेका छन् ।

-shilapatra.com

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban