

– आकृती पाण्डे /
नेपाल प्रहरीको जगको रुपमा रहेका तल्लो दर्जाका कर्मचारी माथि कामको चाँप र जिम्मेवारी जति छ त्यसको बदलामा सेवा सुविधा भने अत्यन्तै न्यून छ । चेन अफ कमाण्डको मापदण्ड पनि सिनियर अधिकृतलाई भन्दा जवान र हवल्दार हुँदै वरिष्ठ सई सम्मलाई मात्र बढी लागु हुने गरेको छ । अहोरात्र ड्युटीको थकानले लखतरान भई रहेको बेला पनि उसले राम्रो सँग निदाउन पाउँदैन ।
चाडपर्वमा घर परिवारसँग रमाउने भन्ने कुरा त उनीहरुको सपना हो । घर परिवार विरामी पर्दा पनि उसले छुट्टी पाउन सक्दैन । सबैभन्दा धेरै काम र फिल्डमा खट्ने तल्लो तहका कर्मचारीको खानपान पनि सुविधा कम भएका कारण प्रयाप्त हुँदैन । उसले जसरी तसरी खानपान त गरी नै हाल्छ, शौच गर्नका लागि शौचालयको समेत राम्रो व्यवस्थापन गरीएको छैन ।
शौचालय भए पनि त्यसमा समेत दर्जा छुट्याइएको हुन्छ । उसले प्रयोग गर्ने शौचालयमा अरु कोहि गएको छ भने अधिकृतको शौचालय खाली हुँदा समेत उ दिसा पिसाव च्यापेर बस्न बाध्य हुन्छ । जवानले पाउने पारिश्रमिक २४ हजार ७ सय २ रुपैया हो । मजदुरी गर्ने मजदुर आठ घण्टा डिउटी गरेर कम्तीमा एक हजार कमाउछ ।
उसले साँझ विहान आफ्ना जहान केटाकेटी सँग रमाउने अवसर प्राप्त गरेको छ । तर दुर्भाग्यका साथ भन्नुपर्छ आम नेपालीको जिउ ज्यानको सुरक्षा मात्र नभएर अमनचयनका साथ निदाउने वातावरण बनाइदिने तल्लो तहको कर्मचारीको पारिश्रमीक दयनीय छ ।हरेक हप्ता निरीक्षण गर्ने उर्दी जारी भएको हुन्छ । उर्दी त जारी हुन्छ तर त्यहाँ हजाम हुँदैन, कपाल काट्न दुई सय रुपैया खर्च गर्न बाध्य पारिन्छ ।
उनीहरुको मासिक चार पटक कपाल काट्दा आठसय रुपैया जान्छ । निरीक्षणका क्रममा वर्दी चिटिक्क पारेर लगाउनु पर्ने निर्देशन त हुन्छ उनीहरुले समयमा युनिफर्म पाउदैनन् । युनिफर्म पाइहाले भने पनि तिन पटक धुँदा खुइलिएर अर्कै कलर हुन्छ । न्यूनतम पारिश्रमीक पाउने र दायाँ बाँया केहि आम्दानी नहुने प्रहरी कर्मचारीले आफ्नै रकमले अर्को यूनिफर्म लिनुपर्ने बाध्यता छ ।
जाडोमा लगाउने लुगा गर्मीयाममा दिइन्छ भने गर्मीमा चाहिने जाडो सिजनमा दिइन्छ । युनिफर्मसँग अनिवार्य लगाउनु पर्ने बुट समयमा कहिल्यै पाउँदैनन् । माथिल्लो दर्जाका अधिकृत त इन्चार्ज बस्छन कमाउछन तर काम सबैभन्दा बढी गर्नुपर्ने दाम कम हुने कर्मचारीको पीडा कसले सुन्ने ।सेवामा प्रवेश गरे पछि विवाह गरेर जन्मीएको बच्चा लक्का जवान हुँदासम्म बच्चाले बावुको काँधमा रिवन मात्र देख्न पाउछ ।
तल्लो दर्जाका कर्मचारीको पीडा र दर्दलाई थोरै भए पनि मल्हम लगाउन गृहमन्त्री नारायणकाजी श्रेष्ठले कदम चाल्न खोजेका छन ।जवान र हवल्दारको अवकास १६ वर्षमा झार्ने गृहमन्त्रीको प्रयासको जवान हवल्दारले जयजयकार मनाएका छन् । प्रहरीको नेतृत्वले तल्लो दर्जाका कर्मचारीको कथा र व्यथा बारे सम्बन्धीत निकायको ध्यानाकर्षण गराइदिने हो भने उनीहरुको परिवार र आत्माले आशिष दिने कुरामा दुई मत छैन् ।





Write your Comment