आर्थिक मन्दीका कारण घरेलु तथा साना उद्योगहरू धमाधम बन्द हुँदै

रातोघर

 २०८० श्रावण २२, सोमबार  मा प्रकाशित
६३६ पाठक संख्या


आर्थिक मन्दीको प्रभाव घरेलु तथा साना उद्योगमा पनि परेको छ । गत आर्थिक वर्ष २०७९/०८० मा आर्थिक मन्दीका कारण धनुषामा ७१ वटा घरेलु तथा साना उद्योग बन्द भएका छन् ।

घरेलु तथा साना उद्योग कार्यालय धनुषाका अनुसार आर्थिक मन्दीका कारण गत आर्थिक वर्षमा लघु उद्योगतर्फ २८, साना उद्योगतर्फ ४२ र घरेलु उद्योगतर्फ १ गरी ७१ वटा उद्योगहरू बन्द भएका छन् । कार्यालयमा गएर आधिकारिक रूपमा उद्योग बन्द गराउनेको संख्या कम रहे पनि नवीकरण गर्न नसकेका ७१ वटा उद्योग खारेजीमा परेको घरेलु तथा साना उद्योग कार्यालयका प्रमुख किशोरीशरण यादवले बताए ।

कोभिड १९ को असर, बैंकको ब्याजदरमा वृद्धि हुनु, आर्थिक तरलताजस्ता कारण देखाउँदै उद्योग तथा वाणिज्यतर्फका फर्महरू बन्द हुने क्रम बढ्दै गएको उनले बताए । धनुषा जिल्लामा साना उद्योग ५३६, लघु उद्योग ५ सय ९१ र घरेलु उद्योग १ गरी एक हजार ९८ उद्योग सञ्चालनमा छन् । ती उद्योगहरूबाट महिला पुरुष गरी ६ हजार ९ सय ३० जनाले प्रत्यक्ष रूपमा रोजगार पाइरहेका छन् ।

आर्थिक वर्ष २०७९/०८० मा दर्ता भएका उद्योगहरूमध्ये साना उद्योग ५ सय ३६, लघु उद्योग ५ सय ५१ र घरेलु उद्योग १ गरी ११सय २८ उद्योग दर्ता भई सञ्चालनमा छन् । ती सञ्चालनमा रहेका उद्योगहरूको स्थिर र चालु पुँजी ३ अर्ब ५५ करोड ८२ लाख ११ हजार ९ सय ९९ रुपैयाँ छन् । हाल १७ हजार ५ सय उद्योग सञ्चालनमा छन् ।

सो कार्यालयले सोही आर्थिक वर्षमा उद्योगतर्फ ४४ लाख ७५ हजार ३ सय ७५ र वाणिज्यतर्फ ७४ लाख २३ हजार ३ सय २५ गरी जम्मा १ करोड १९ लाख ९८ हजार ७ सय रुपैयाँ नवीकरण लगत कट्टा प्रतिलिपिबापत उठाएको नासु मुकेश कर्णले बताए ।

यसरी व्यवसायी बन्द भएपछि अहिले जनकपुरधाममा व्यावसायिक सटरहरू खाली गरी व्यापारी अन्यत्र पलायन भएका छन् । घरेलु तथा साना उद्योगहरू बन्द हुँदा करिब ५ हजार कामदार बेरोजगार भएको प्रमुख यादवले बताए । त्यसैगरी, उत्पादनमूलक कृषिजन्य, वनजन्य र सेवामूलक उद्योगहरू बन्द हुँदा राजस्वमा नकारात्मक प्रभाव  परेको उनको भनाइ छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन