

वीरगञ्ज ।
किशोरी जिस्क्याएको निहुँमा भएको विवादका क्रममा झडप हुँदा एक जनाको मृत्यु भएको छ ।पर्सा जिल्लाको पर्सागढी नगरपालिकामा किशोरीलाई फोन मार्फत जिस्क्याएको निहुँमा भएको विवादका क्रम झडप हुँदा पर्सागढी – ४ वारवाटाडी बस्ने २१ वर्षीय जमुदिन मोहम्मद अन्सारीको मृत्यु भएको हो ।
स्थानीय एक १६ वर्षीय किशोरीलाई सोही स्थानका एक १७ वर्षीय किशोरले टेलिफोन मार्फत जिस्क्याएको विषयलाई लिएर भएको कुटाकुटमा जमुदिनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कुटपिटमा संलग्न रहेको आरोपमा दुई जनालाई नियन्त्रणमा समेत लिएको छ । पक्राउ पर्नेमा सोही ठाउँका २४ वर्षीय अबतुल्लाह मियाँ अन्सारी र ४५ वर्षीय वकिल महमद अन्सारी रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दीपक गिरीले जानकारी दिए ।
किशोरीलाई जिस्क्याएको विषयमा वकिल महमद अन्सारी र अली महमद अन्सारीबिच गत शनिवार राति भएको झडपका क्रममा अबतुल्लाह मियाँ अन्सारीले प्रहार गरेको चिर्पट प्रहारबाट जमुदिन गम्भीर रूपले घाइते भएका थिए ।
घाइते भएपछि उनलाई उपचारका लागि उनलाई वीरगञ्जको नारायणी अस्पताल पछि थप उपचारका लागि भनेर बाराको परवानीपुरस्थित एलएस न्यूरो अस्पतालमा लगिएको थियो । एलएस न्यूरो अस्पतालमा उपचारका क्रममा जमुदिनको मङ्गलवार मृत्यु भएको डिएसपी गिरीले बताए । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको गिरीले बताए ।





Write your Comment