हिन्दूहरूको आस्थामा प्रहार गरेको भन्दै वीरगञ्जमा जलाइयो कान्तिपुर पत्रिका

रातोघर

 २०८० श्रावण ३०, मंगलबार  मा प्रकाशित
३१२ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्जमा कान्तिपुर दैनिक पत्रिका जलाइएको छ ।हिन्दू धर्ममाथिको आस्था र विश्वासमाथि प्रहार गर्ने समाचार लेखेको भन्दै एक अज्ञात समूहले मङ्गलवार बिहान पत्रिका जलाएको हो ।

व्यापारिक घराना चौधरी समूहले भारतको मध्य प्रदेशस्थित बागेश्वर धामका संस्थापक धीरेन्द्रकृष्ण शास्त्रीलाई पूर्वी नवलपरासीस्थित शाश्वत धाममा ल्याउने तयारी गरिरहेको बेला कान्तिपुर पत्रिकाले साउन २८ गतेका दिन ‘अतिवादी धर्मगुरुलाई चौधरी ग्रुपले नेपाल ल्याउँदै’ भन्ने शीर्षकमा समाचार लेखेको थियो । सोही दिनदेखि हिन्दूवादी सङ्घ सङ्गठनहरूले कान्तिपुर पत्रिकाको विरोध गरिरहेका छन् । विरोधकै स्वरूपमा आज वीरगञ्जको बाइपास रोडमा कान्तिपुर पत्रिका जलाउँदै उनीहरू कान्तिपुर पत्रिकाको विरोधमा नाराबाजी पनि गरेका छन् ।

‘हिन्दु विरोधी कान्तिपुर मुर्दावाद’ को नारा लगाउँदै उक्त समूहले पत्रिका जलाएको थियो । समूहले कान्तिपुर पत्रिका वितरण गर्ने गाडी जलाउने धम्की पनि दिएको छ । उनीहरूले सामाजिक सञ्जालमा कान्तिपुरलाई अनफलो गर्ने अभियान पनि चलाएका छन् ।पत्रिका जलाएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल शाहले अज्ञात समूहले पत्रिका जलाएको हुँदा उनीहरूकोखोजी भइरहेको बताए । समाचारप्रति चित्त नबुझे कानुनी व्यवस्था र प्रक्रिया भए पनि पत्रिका जलाउनु अनुचित कार्य भएको नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीको बुझाई छ ।

उनले भने, ‘यो सरासर गलत काम हो । यसरी पत्रिका जलाउन पाइँदैन । यसले प्रेस स्वतन्त्रतामाथि प्रहार गरिएको छ ।’ पत्रिका जलाउने कार्यमा संलग्नलाई खोजेर कानुनबमोजिम कारबाही गर्न उनले माग गरेका छन् ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban