दुर्घटना तथा अपराध न्यूनीकरण गर्न वीरगञ्जमा अत्याधुनिक एनएनपीआर क्यामेरा जडान

रातोघर

 २०८० श्रावण ३२, बिहिबार  मा प्रकाशित
४९१ पाठक संख्या


वीरगञ्ज ।

पर्साको वीरगञ्जमा सवारीसाधनको नम्बर प्लेट चिनेर तस्बिर खिच्ने उच्च प्रविधियुक्त क्यामेरा जडान भएको छ ।पछिल्लो समय बढ्दै गएको सवारी दुर्घटना र अपराध न्यूनीकरण गर्नुका साथै वीरगञ्ज र आसपासका क्षेत्रमा गुड्ने सवारीसाधनको गति, सुरक्षा र निगरानी गर्ने उद्देश्यले वीरगञ्ज – २१ परवानीपुरमा उच्च प्रविधियुक्त अटोमेटिक नम्बर प्लेट रेकगनिसन सिस्टम (एनएनपीआर) क्यामेरा जडान भएको हो ।

वीरगञ्ज महानगरपालिकाको झन्डै २७ लाख रुपैयाँ लगानीमा जडित क्यामेरा र त्यसको निगरानी कक्ष (सर्भेलेन्स रुम) को बुधवार उद्घाटन गरिएको छ । जिल्ला प्रहरी कार्यालय पर्सामा निर्मित निगरानी कक्षको महानगरका मेयर राजेशमान सिंह, पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी र पर्सा प्रहरीका प्रमुख प्रहरी उपरीक्षक (एसपी) कोमल विक्रम शाहले रिबन काटेर संयुक्त रूपमा उद्घाटन गरेका थिए ।

वैभव वीरगञ्जको अभियानलाई साकार तुल्याउन सुरक्षित वीरगञ्ज बनाउन एनएनपीआर क्यामेरा जडान गरिएको महानगर मेयर राजेशमान सिंहले बताए । क्यामरा जडान भएसँगै वीरगञ्जको सुरक्षामा समेत थप मद्दत पुग्ने उनको विश्वास छ ।

नगर क्षेत्रमा हुने दुर्घटना तथा चोरीका घटना न्यूनीकरणमा यसले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै मेयर सिंहले विकास निर्माण, नगरको सौन्दर्यीकरण, सरसफाइसँगै नगरवासीको सुरक्षालाई समेत महानगरले प्राथमिकताका साथ ठोस कार्यक्रम सहित अगाडि बढाई रहेको बताए ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले पर्सा प्रहरीको कन्ट्रोल रूपमा जडान गरिएको अत्याधुनिक क्यामराले अपराध तथा दुर्घटनाका घटना तत्काल पत्ता लगाउन तथा दोषीलाई पक्राउ गर्न सहज भएको बताए ।

क्यामराबाट नगर क्षेत्रमा हुने दुर्घटना, चोरीका घटना तथा सुरक्षाका विविध गतिविधिलाई नियाल्न सहज हुने र तीव्र गतिमा गुड्ने सवारी साधनहरूलाई समेत कारबाही गर्न सहज हुने एसपी कोमल शाहले बताए । वीरगञ्ज प्रवेश गर्ने तथा बाहिरिने चोक एवम् व्यस्त बजार क्षेत्रका विभिन्न स्थानमा क्यामरा जडान गरिएको र हिट एन्ड रनको अवधारणा अनुसार घटना स्थलमा तत्काल प्रहरी पुग्न समेत सहज हुने उनले बताए ।

क्यामेरा जडानदेखि त्यसको प्राविधिक पक्षको जिम्मा वीरगञ्जस्थित इन्द्री ग्रुपले पाएको छ । नेपालमै पहिलो पटक यस्तो प्रविधिको क्यामेरा जडान भएको ग्रुपका निर्देशक ऋषि साहले दाबी गरे ।

बुधवार नै एक कार्यक्रमका बिच मेयर सिंहले गण्डक चोकको शहीद तेज बहादुर अमात्यको सालिक राखिएको स्थानमा नयाँ राष्ट्रिय झन्डाको झन्डोत्तोलन समेत गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मी, प्रहरी उपरीक्षक कोमल शाह, सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलिया लगायतको सहभागिता रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban