बिआईटी कलेजका विद्यार्थीले बनाएका विभिन्न परियोजनाको प्रदर्शनी

रातोघर

 २०८० भाद्र १, शुक्रबार  मा प्रकाशित
३४७ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्जको बिआईटी इन्जिनियरीङ् कलेजमा विद्यार्थीहरुद्वारा निर्मित विभिन्न परियोजनाहरुको प्रदर्शनी गरिएको छ । विज्ञान र प्रविधिको प्रयोग गरेर कलेजको कम्प्युटर संकाय र इलेक्ट्रोनिक्स÷इलेक्ट्रीकल संकायका विद्यार्थीहरुले बनाएका विभिन्न किसिमका परियोजनाहरुको शुक्रवार कलेजमै प्रदर्शनी गरिएको हो ।

सो अवसरमा विद्यार्थीहरुले ब्लुथुत कन्ट्रोल कार, डुर लक सिस्टम, स्मार्ट होम, स्मार्ट डस्टबिन, स्मार्ट इरिगेसन, वेदर मोनिटरीङ्, गेट विथ अल्ट्रासोनिक सेन्सर लगायतका परियोजनाहरु निर्माण गरेको इलेक्ट्रीकल र इलेक्ट्रोनिक्सकी विभागीय प्रमुख इन्जिनियर सिम्रन पटेलले जानकारी दिइन् । प्राविधिक विषयको अध्यापन हुने संस्थामा विद्यार्थीहरुलाई प्रविधिप्रतिको लगाब बढाउनदेखि व्यवहारिक ज्ञानलाई बढावा दिनका लागि परियोजना निर्माणमा विद्यार्थीहरुलाई सरिक बनाइएको पटेलको भनाई छ ।

कलेजकी सहप्रधानाध्यापिका इन्जिनियर सरिता जैसवालकाअनुसार कलेजले नै विभिन्न किसिमका अत्याधुनिक परियोजना निर्माणमा सरिक बनाउँदा विद्यार्थीहरु उत्साहित हुने गरेका छन् । विगतमा पनि कलेजले यस्ता कार्यक्रम गर्दै आएको बताउँदै उनले आगामी दिनमा पनि विद्यार्थीको क्षमता अभिवृद्धि हुने खालका कार्यक्रम र अतिरिक्त क्रियाकलापलाई कलेजले जोड दिँदै जाने बताइन् ।

यसअघि विद्यार्थीहरुले आफै युट्युब हेरेर प्रयास गर्दै बनाउँदा उनीहरुले यसका प्राविधिक पक्षहरुको बारेमा जान्न नपाउने हुँदा यस वर्ष दक्ष तथा अनुभवी प्रशिक्षकमार्फत सुरुमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको कलेजका प्रधानाध्यापक निरज श्रीवास्तवले बताए । उनले भने, ‘हामीले सुरुमा एक साताको प्रशिक्षणको व्यवस्था गरेका थियौँ, जुन प्रशिक्षण लिएर विद्यार्थीहरुले प्राविधिक पक्षसँगै आवश्यक पर्ने सबै सामग्रीको बारेमा पनि जानकारी पाए । त्यसले गर्दा उनीहरुलाई अझै सहज हुनुका साथै आगामी दिनमा आफै पनि बनाउन सक्ने आत्मविश्वास बढेको छ ।’

समयको विकासअनुरुप विद्यार्थीहरुलाई पनि अपडेट र अपग्रेड गर्नुपर्नेमा जोड दिँदै उनले विद्यार्थीहरुको चौतर्फी विकासमा कुनै कसर बाँकी नछोडेको बताए । उनकाअनुसार अहिले सुरुमा आधारभूत प्रशिक्षणको व्यवस्था गरेर विद्यार्थीहरुले परियोजना बनाएका हुन् । केही समयमा विद्यार्थीहरुको क्षमतालाई अझै निखारेर उत्पादनदेखि बजारमा बिक्रिवितरण गर्ने किसिमले सामग्री उत्पादन गर्ने लक्ष्यअनुरुप अगाडी बढेको उनले बताए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban