

सिरहा ।
कुनैबेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र स–साना पसल मात्रै देखिने मधेस प्रदेशका ग्रामीण बजारको स्वरुप यतिबेला फेरिएको छ । बजारको स्वरुप फेरिएसँगै त्यस क्षेत्रका स्थानीयमा पहिलाको भन्दा बेग्लै खालको उत्साहसमेत देखिन थालेको छ ।
सिरहाको बरियारपट्टी बजार पनि अहिले सुगम क्षेत्रका रुपमा आफ्नो पहिचान फेर्न लागेको छ । भारतीय सिमानाका लदनियाँ बजारसँगै टाँसिएको बरियारपट्टी बजारमा धमाधम ठूला लगानीका पसल खुल्न थालेको छ भने बजारमा सर्वसाधारणको चहलपहलसमेत बढेको स्थानीयवासी बताउँछन् । ‘पहिला पहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाप्रो, त्यहाँभित्र साना व्यवसाय मात्र थियो’, धनुषाको औरहीका बिनोद यादव भन्छन्, ‘तर अहिले सडक फराकिलोसँगै बजारमा पक्की भवन र ठूला पसलहरू खुल्न थालेका छन् ।’
पर्साको ठोरी गाउँपालिकालाई केही वर्ष अघिसम्म दुर्गम क्षेत्रको रुपमा मानिथ्यो । तर अहिले ठोरीले आफ्नो पुरानो पहिचान फेरेको छ । यतिबेला ठोरी क्षेत्र मधेस प्रदेशकै प्रमुख पर्यटकीय क्षेत्रका रुपमा विकास हुन थालेको छ । सडक सञ्जालको विकास नहुनु र प्रचारप्रसारको अभावका कारण ओझेलमा परेको ठोरी अहिले हुलाकी सडक कालोपत्रे भएसँगै विकासको गतिमा अघि बढेको छ । पूर्व–पश्चिम हुलाकी सडक कालोपत्र भएसँगै ठोरीका स्थानीयहरूको अनुहारमा यतिबेला मुस्कान छाएको छ ।
हुलाकी सडक अन्तर्गत पर्साको वीरगञ्जदेखि ठोरीसम्मको सडक कालोपत्र भएपछि सदरमुकाम वीरगञ्ज पुग्न सहज भएको छ । “वीरगञ्जदेखि ठोरीसम्मको दूरी करिब ५२ किलोमिटर पर्छ, गाउँबाट वीरगञ्ज बजार पुग्न पहिला मोटरसाइकलमा सात/आठ घण्टासम्म लाग्दथ्यो’, ठोरी गाउँपालिका–४ का ललित श्रेष्ठ भन्छन्, ‘सडक कालोपत्र भएपछि अहिले एक घण्टामै पुग्छौँ ।’ अब धुलो र हिलोबाट समेत हामीले मुक्ति पाएको उनको कथन छ ।
पर्सा राष्ट्रिय निकुञ्जसँग जोडिएको ठोरी पर्यटन र कृषिको प्रशस्त सम्भावना रहे पनि सडक सुविधा नहुँदा यहाँका वासिन्दाको जीवनस्तर माथि उठ्न सकेको थिएन । ‘पहिला गाउँमा उत्पादन भएको तरकारी तथा फलफूल सहज रुपमा वीरगञ्ज बजार पुर्याउन समस्या हुन्थ्यो’, बहुदरमाई नगरपालिकाका श्रवण महतो भन्छन्, ‘तर अहिले सो सडकमा थुप्रै संख्यामा अटो रिक्साहरू चल्न थालेपछि सहज रुपमै तरकारी, फलफूल बजार पुर्याउन सकेका छौँ ।’
छोटो समयमै धनुषा र सिरहासहित मधेश प्रदेशका ग्रामीण क्षेत्रमा आएको परिवर्तन अन्य कुनै कारणले नभई मधेशकै ‘लाइफ लाइन’को रुपमा मानिएको हुलाकी सडक निर्माणसँगै सम्भव भएको हो । देशकै पुरानो राजमार्गहरूमध्ये पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत मधेश प्रदेशका आठवटै जिल्लामा सडक निर्माण कार्य तीब्र रुपमा अघि बढेसँगै दुर्गम मानिएका ग्रामिण क्षेत्रहरू अहिले सुगम क्षेत्र बन्दै गएको छ ।
हुलाकी सडकको निर्माणको काम शुरु भएपछि सो भेगका सर्वसाधारणहरू समेत खुसी भएका छन् । हुलाकी सडक निर्माण भएपछि मधेसको विकासले गति लिनुको साथै हजारौं युवाहरूमा रोजगारीको अवसर सिर्जना हुने उनीहरूको विश्वास छ ।
हुलाकी सडक विस्तार र स्तरोन्नतिको कामले सिरहाको आधा दर्जन स्थानीय तहको विकासमा ठूलो टेवा पुगेको सिरहाको बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष मेहताको कथन छ । ‘हुलाकी राजमार्ग बनेपछि जग्गाजमिनको मूल्याङ्कन समेत बढ्दै गएको छ’ सप्तरीको बिष्णुपुर गाउँपालिकाका अध्यक्ष उमेश यादव भन्छन्, ,’ पहिला मुस्किलले रु। २० लाख प्रतिकठ्ठा बिक्री हुने जग्गाहरू अहिले रु ६० देखि ७० लाख कठ्ठामा बिक्री हुन थालेको छ ।’





Write your Comment