

बारा ।
अधिकांश भारतीय तीर्थयात्री बढेको बस पथलैया-हेटौँडाअन्तर्गतको चुरिया माई क्षेत्र सडक खण्डमा दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ भने अन्य १७ जना घाइते भएका छन् ।
काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको प्र-३-००१-ख ७९९४ नम्बरको बस बुधवार राती १ बजे जीतपुरसिमरा – २२ स्थित चुरिया माईको ओरालोमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट १० देखि १५ मिटर टाढा खोलामा खसेको जिल्ला प्रहरी कार्यालय बाराद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
तिव्र गतिका कारण भएको दुर्घटनामा मृत्यु हुनेमा चार महिला र तीन पुरुष रहेका छन् । मृतकमध्ये ६ जना भारतीय र एक जना नेपाली रहेका छन् ।
बाराका प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दधिराम न्यौपानेका अनुसार ज्यान गुमाउनेमा महोत्तरी लोहरपट्टीका ४१ वर्षीय बिजयलाल पण्डित रहेका छन् भने अन्यको नाम खुलेको छैन । दुर्घटनामा घाइते भएका १७ जनाको हेटौँडास्थित अस्पतालमा उपचार चलिरहेको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा भारत राजस्थानका घनश्याम चतुर्वेदी, माया देवी, अनिल कुमार, चारावती चतुर्वेदी, श्यामलाल माली, हरवारी माली, चौथी देवी, सुरेश चक्रवर्ती, रामप्रसाद, धरम सिंह, इन्दु धानुक, रामकुमार चतुर्वेदी, १६ वर्षीय गर्बिदा चतुर्वेदी र ९ वर्षीय क्रितिका चतुर्वेदी रहेका छन् । यसै गरी महोत्तरी जलेश्वरका बिहारी मुखिया, धनुषा मौवा गाउँपालिका १८ का घुरन मण्डल, महोत्तरी लोहारपट्टी ५ का जसबेन्दर पासवान घाइते भएको डिएसपी न्यौपानेले जानकारी दिएका छन् ।
जीतपुरसिमरा उपमहानगरपालिका – २२ स्थित चुरिया माईको ओरालोमा बस दुर्घटना भएको हो । सडकबाट खोलामा बस खसेकाले तिव्र गतिका कारण दुर्घटना भएको हुनसक्ने बाराका प्रहरी उपरीक्षक (एसपी) होबिन्द्र बोगटीले बताए ।
दुर्घटना लगत्तै चालक फरार भएका थिए । यद्यपि उनलाई धनुषाबाट नियन्त्रणमा लिइएको एसपी बोगटीले जानकारी दिए ।दुर्घटना भएको झन्डै एक घण्टापछि प्रहरीले सूचना पाएको थियो । सूचना ढिलो पाएका कारण उद्धारमा केही ढिलाइ भएको एसपी बोगटीको भनाई छ ।
सकुशल भएपछि समयमै दुर्घटनाको विषयमा जानकारी गराउनुपर्ने चालक भागेर धनुषा पुगेको र घाइते यात्रु सडकमा निस्किएर घटनाबारे जानकारी गराउँदा ढिलो हुन पुगेको बोगटीको कथन छ ।घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय अमलेखगञ्ज, इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरीको टोली घटनास्थलमा खटिएको थियो ।





Write your Comment