

वीरगञ्ज ।
एचआइभी सङ्क्रमित महिलाहरूको राष्ट्रिय महासङ्घ मधेस प्रदेशको आयोजना र नयाँ जीवन विकास सेवा समाजको समन्वयमा वीरगञ्जमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा एचआइभी सङ्क्रमित महिलाहरूको राष्ट्रिय महासङ्घको परिचय, सञ्चालन भइरहेका परियोजना, उपलब्धि र समग्र सङ्क्रमितको अवस्थाको बारेमा मधेस प्रदेशका फोकल पर्सन रिंजव चौरसियाले प्रस्तुत गरेका थिए । लैङ्गिक हिंसा सम्बन्धी घटनामा पीडित भएकाहरूको व्यवस्थापनका लागि सेफर हाउसको निर्माण गर्नुपर्नेमा अन्तरक्रियामा सहभागीहरूले जोड दिएका थिए ।
प्रदेश स्तरीय सरोकारवालासँगको अन्तरक्रियाका क्रममा सहभागीहरूले सेफर हाउस निर्माण गर्नुपर्ने आवश्यकता औँल्याएका हुन् । लैङ्गिक हिंसा बढ्दै जाँदा आफ्नै परिवारबाट पीडित भएपछि घरमा बस्न नसक्ने र व्यवस्थापनमा समस्या हुने गरेको नारायणी अस्पतालकी एक द्वार सङ्कट व्यवस्थापन समिति (ओसिएमसी) की फोकल पर्सन हेमा थापाले बताइन् ।
लैङ्गिक हिंसाहरूमा राजनीतिक प्रभाव पर्ने भएकाले पीडितले न्याय नपाउने र पिडकले सजाय नपाउने गरेको उनको भनाई छ । ओसीएमसीमार्फत हिंसामा परेका महिलाहरूको उद्धार एवम् उपचारसँगै व्यवस्थापनका कामहरू भइरहेको बताउँदै उनले मधेस प्रदेशमा मात्रै सेफर हाउस निर्माण हुन नसकेकोमा दुख व्यक्त गरिन् ।
नयाँ जीवन विकास सेवा समाजका कार्यकारी निर्देशक हुसेन अन्सारीले संस्थाको काम, अहिलेसम्मका गतिविधि र उत्प्रेरक कोष अन्त्रगतको नियमित बैठक तथा लैङ्गिकताका आधारमा हुने हिंसा र योजनाका बारेमा प्रकाश पारेका थिए । एचआइभी सङ्क्रमितहरूको उपचारसँगै उनीहरूको अवस्थाको बारेमा उनले अवगत गराएका थिए ।
अन्तरक्रियालाई सम्बोधन गर्दै स्वास्थ्य कार्यालय पर्साका प्रमुख नवलकिशोर साहले सबै गैरसरकारी संस्थाहरूले काम गर्दा सम्बन्धित संस्था एवम् कार्यालयसँग समन्वय गर्न सुझाव दिएका छन् ।
स्वास्थ्य कार्यालयसँग समन्वय गर्दा कामको प्रतिफल अझै राम्रो आउने उनले दाबी गरे । वीरगञ्ज महानगरपालिकाको स्वास्थ्य तथा सामाजिक विकास शाखाका प्रमुख अनिल कुमार यादवले महानगरले पनि एचआइभीको क्षेत्रमा काम गरिरहेको जानकारी गराए । उनकाअनुसार महानगरले विभिन्न सङ्घसंस्थासँग सहकार्य गरेर काम गरिरहेको छ ।
कार्यक्रममा बाराको विश्रामपुर गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख अलिअकबर हुसेन, नारायणी अस्पतालको एआरटी सेन्टरकी इन्चार्ज सरिता श्रेष्ठ, एड्स हेल्थ केयर फाउन्डेसनका फोकल पर्सन आशिष् गुरागाईँ सहित विभिन्न स्थानीय तहका स्वास्थ्य शाखा संयोजक लगायतको उपस्थिति रहेको थियो ।अन्तरक्रिया कार्यक्रमको सहजीकरण बाराको विश्रामपुर गाउँपालिका स्वास्थ्य चौकीका सुवासचन्द्र गुप्ताले गरेका थिए ।





Write your Comment