सप्तरीमा नाटकीय ढंगबाट लुटियो बृद्धाको रकम

रातोघर

 २०८० भाद्र ८, शुक्रबार  मा प्रकाशित
५६६ पाठक संख्या


राजविराज ।

बैंकबाट ऋण निकालेर बसमा बसेकी एक बृद्धा नाटकीय ढंगबाट लुटिएकी छिन् । सप्तरीको कंचनरुप नगरपालिका ११ ठेलियाकी ६५ वर्षिया मंगलीदेवी चौधरी लुटिएकी हुन् । उनीबाट १ लाख ९० हजार रुँपैया लुटिएको पीडित बृद्धाका श्रीमान् बसन्त चौधरीले बताए ।

श्रीमानकाे उपचार तथा नाती नातिनीको बाँकी बक्यौता विद्यालय शुल्क बुझाउनका लागि उनले बिहीबार कंचनरुप नगरपालिकास्थित मेरो माइक्रो फाइनान्स बित्तिय संस्था लिमिटेडमा जग्गा धितो राखेर १ लाख ९० हजार रुँपैया ऋण निकालेकी थिइन् ।

सो रकम झोलामा राखी उनी काम विशेषले सदरमुकाम राजविराज पुग्न विष्णु ट्राभल्स नामक बसमा चढेकी थिइन् । बृद्धा चौधरीका अनुसार बित्तिय संस्थाबाट रकम लिएर बसमा चढ्दासम्म अपरिचित दुई÷तीन जनाले पच्छ्याएका थिए । आफू चढेको बसमा ती अपरिचित यूवाहरु चढेको उनले सुनाइन् ।

बीच बाटोमै बडो चलाखीपूर्ण तरिकाले आफूलाई थाहै नहुने गरि झोला काटेर ती रकम निकालेर लगेको उनले प्रहरी समक्ष रुदै सुनाइन् । आफू रुपनी चौकमा बसबाट ओर्लिएपछि झोला चेक गर्दा मात्र रकम लुटिएको थाहा पाएको उनले सुनाइन् ।

उनी त्यही रित्तो झोला बोकेर बिहीबारै साँझ जिल्ला प्रहरी कार्यालय पुगेर भावुक हुँदै प्रहरी अधिकारीहरुलाई रकम पत्ता लागाई दिन गुहार्दै थिइन् ।

श्रीमान्को उपचार तथा नाती नातिनिको विद्यालय शुल्कका लागि बैंकबाट निकालिएको ऋण लुटिएपछि बिचल्लीमा परेको सुनाउँदै उनले अब श्रीमान्को उपचार र नाती नातिनीको विद्यालय शुल्क कसरी तिर्ने भन्ने चिन्ता ब्यक्त गरेकी छिन् ।बृद्धाको बयानको आधारमा अपराधी पत्ता लगाउने काम सुरु गरिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban