नेविसङ्घ पर्साले माग्यो गृहमन्त्रीको राजीनामा

रातोघर

 २०८० भाद्र २१, बिहिबार  मा प्रकाशित
४४० पाठक संख्या


वीरगञ्ज ।

नेपाली काङ्ग्रेसको भातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ पर्साले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेको छ ।बिहीबार पर्साका प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाउँदै नेविसङ्घ पर्साले गृहमन्त्री श्रेष्ठको राजीनामा मागेको हो ।

काठमाडौँमा बुधवार दिनदहाडै काङ्ग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गरी ज्यान लिने प्रयास गरिएकोले देशमा शान्ति सुरक्षा कायम गर्न गृहमन्त्री श्रेष्ठ असफल भएकाले श्रेष्ठले अविलम्ब राजीनामा दिनुपर्ने माग नेविसङ्घको छ ।

नेविसङ्घ पर्साका सभापति रमेश यादवले पर्साका प्रमुख जिल्ला अधिकारी हीरालाल रेग्मीलाई बुझाएको ज्ञापनपत्रमा गृहमन्त्री श्रेष्ठले अपराधी र तस्करहरूलाई संरक्षण गरेको, श्रेष्ठको कार्यकालमा लोकतन्त्रका लागि लडेका नेताहरूको ज्यानै लिने गरी आक्रमण भइरहेको, मुलुकमा शान्ति–सुरक्षा र अमन चयन कायम गर्न श्रेष्ठ असफल भएकाले नैतिकताका आधारमा श्रेष्ठले गृहमन्त्रीबाट राजीनामा गर्नुपर्ने उल्लेख छ ।

साथै यादवमाथि आक्रमण गर्नेलाई हदैसम्मको कारबाही गर्न पनि नेविसङ्घले माग गरेको छ । यदि आफूहरूको माग सम्बोधन नगरिए वर्तमान सरकारविरुद्ध सशक्त आन्दोलनमा उत्रिने चेतावनीसमेत नेविसङ्घले दिएको छ ।

जिल्ला प्रशासन कार्यालय पर्सामा बिहीबार ज्ञापन पत्र बुझाउन गएको टोलीमा नेविसङ्घ पर्साका सभापति यादवसँगै काङ्ग्रेसका क्षेत्रीय सभापति मोहम्मद सहबुदिनलगायतकोपनि सहभागिता थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban