बाँकेमा रोकिराखेको ट्रकमा बस ठोक्कियो, ७ जनाको मृत्यु, ३० जना घाइते

रातोघर

 २०८० भाद्र २३, शनिबार  मा प्रकाशित
२३७ पाठक संख्या


वीरगञ्ज ।

बाँकेको राप्ती सोनारी गाउँपालिका शमशेरगञ्जमा रोकिराखेको ट्रकसँग बस ठोक्किँदा चालकसहित सात जनाको मृत्यु भएको छ ।दाङबाट बर्दियातर्फ आइरहेको ना७ख २३२१ नम्बरको बस शमशेरगञ्जमा पूर्वपश्चिम राजमार्ग किनारमा रोकिराखेको ना८ख ६४०५ नम्बरको ट्रकमा पछाडिबाट ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा ३० जना घाइते भएका छन् । घाइतेहरूको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ का ५० वर्षीय काशीराम थारु, ५५ वर्षीय कस्तुरी थापा, ५५ वर्षीय रूपा परियार, ४० वर्षीय जयन्ती थारु, ६० वर्षीय सानुराम थारु र चालक ४५ वर्षीय जुगबहादुर चन्दको मृत्यु भएको हो । अर्का मृतक सहचालक करिब ३५ वर्षीय पुरुषको नाम थर खुलेको छैन ।

बर्दियाको ठाकुरद्वारास्थित बेतनी सामुदायिक वनका उपभोक्ताहरूले रिजर्भ गरेको उक्त बस दाङको धारापानी र थारु सङ्ग्रहालय भ्रमण गरी फर्किने क्रममा दुर्घटना भएको हो । बिग्रिएर सडक किनारमा रोकिएको ट्रकमा बस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban