

वीरगञ्ज ।
वीरगञ्जमा जारी अन्तर बैङ्क महिला फुटबल प्रतियोगिता – २०८० को क्वाटर फाइनलमा सात वटा बैङ्क पुगेका छन् । हिन्दू पर्व हरितालिका तीजको अवसरमा गत शुक्रवारदेखि नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घ वीरगञ्जको आयोजनामा सुरु भएको एक हप्ते अन्तर बैङ्क महिला फुटबल प्रतियोगिताको क्वाटर फाइनलमा नेपाल राष्ट्र बैङ्क, प्राइम कर्मर्सियल बैङ्क, कर्पोरेट डेभलपमेन्ट बैङ्क, लक्ष्मी सनराइज बैङ्क, नेपाल बैङ्क, कुमारी बैङ्क र नबिल बैङ्क गरी हालसम्म ७ वटा टिम पुगेका छन् । प्रतियोगितामा कूल १८ वटा बैङ्कले सहभागिता जनाएका छन् ।
वीरगञ्जस्थित नेपाल राष्ट्र बैङ्क शाखा कार्यालयको खेल मैदान भित्र आयोजित प्रतियोगिताको पहिलो दिन ६ वटा खेलहरू भएका थिए । पहिलो दिनको खेलमा नेपाल राष्ट्र बैङ्क, नेपाल एसबीआइ बैङ्क, कुमारी बैङ्क, नबिल बैङ्क, लक्ष्मी सनराइज बैङ्क, प्राइम कमर्सियल बैङ्क विजयी भएको आयोजक संस्थाले जनाएको छ ।
उद्घाटन पश्चात् भएको खेलमा नेपाल राष्ट्र बैङ्कले प्रभु बैङ्कलाई ३–० को अन्तरले, नेपाल बैङ्कले पेनाल्टी सुटआउटमा नेपाल एसबीआई बैङ्कलाई २–० को अन्तरले, कुमारी बैङ्कले पेनाल्टी सुटआउटमा सिटिजन्स बैङ्कलाई २–० को अन्तरले, नबिल बैङ्कले एनआइसी एसिया बैकलाई ३–० को अन्तरले, लक्ष्मी सनराइज बैङ्कले सिद्धार्थ बैङ्कलाई २–० को अन्तरले र प्राइम कमर्सियल बैङ्कले ग्लोबल आइएमइ आफ्नो प्रतिस्पर्धीलाई पनि ३–० को अन्तरले पराजित गरेको आयोजक संस्था नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घ वीरगञ्जका अध्यक्ष नरेशकुमार सर्राफले जानकारी दिए ।
त्यस्तै शनिवार दोस्रो दिन भएका ९ वटा खेलहरूमा नेपाल राष्ट्र बैङ्क, नेपाल बैङ्क, कुमारी बैङ्क, नबिल बैङ्क, नेपाल एसबीआइ बैङ्क, एनआइसी एसिया बैङ्क, लक्ष्मी सनराइज बैङ्क, एनएमबी बैङ्क र कर्पोरेट डेभलपमेन्ट बैङ्क विजयी भएका थिए । नेपाल राष्ट्र बैङ्कले पेनाल्टी सुटआउटमा सानिमा बैङ्कलाई २–० को अन्तरले, नेपाल बैङ्कले पेनाल्टी सुटआउटमा कर्पोरेट डेभलपमेन्ट बैङ्कलाई २–० अन्तरले, कुमारी बैङ्कले एनएमबी बैङ्कलाई २–० अन्तरले, नबिल बैङ्कले ग्लोबल आइएमइ बैङ्कलाई ५–१ को अन्तरले, नेपाल एसबीआई बैङ्कले हिमालयन बैङ्कलाई २–० अन्तरले, एनआइसी एसिया बैङ्कले प्राइम बैङ्कलाई ४–२ अन्तरले, लक्ष्मी सनराइज बैङ्कले सिटिजन बैङ्कलाई २–० अन्तरले, एनएमबी बैङ्कले सिद्धार्थ बैङ्कलाई २–० अन्तर र कर्पोरेट डेभलपमेन्ट बैङ्कले हिमालयन बैङ्कलाई ३–० को अन्तर पराजित गरेको थियो ।
नेपाल राष्ट्र बैङ्क वीरगञ्ज शाखाका निर्देशक अजित रेग्मीको प्रमुख आतिथ्यमा आयोजित उद्घाटन कार्यक्रममा कर्पोरेट डेभलपभेन्ट बैङ्कका प्रमुख कार्यकारी अधिकृत विपिन राज पोखरेल, नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घ केन्द्रीय समितिका उपाध्यक्ष तुलसी राम बानिया लगायतको उपस्थिति रहेको थियो ।शुक्रवारदेखि सुरु प्रतियोगिता आगामी खेलहरू भदौ २९ र ३० गते हुने आयोजक संस्था नेपाल राष्ट्र बैङ्क कर्मचारी सङ्घ वीरगञ्जका अध्यक्ष नरेशकुमार सर्राफले बताए ।





Write your Comment