

वीरगञ्ज ।
वीरगञ्जस्थित नारायणी अस्पतालमा किशोरीहरूलाई पाठेघरको मुखको क्यान्सर विरुद्ध ‘एचपीभी’ खोप लगाउन सुरु गरिएको छ । मधेस प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालय अधीन रहेको स्वास्थ्य कार्यालय पर्साले बिहीबार एउटा सूचना जारी गर्दै नारायणी अस्पतालमा किशोरीहरूलाई एचपीभी खोप लगाउन सुरु गरिएको जनाएको छ ।
स्वास्थ्य कार्यालयका अनुसार पहिलो चरणमा अहिले १४ वर्ष पूरा भई १५ वर्ष ननाघेका किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरबाट बचाउन ‘डेमोस्ट्रेशन’ का रूपमा खोप दिन थालिएको छ । २०६५ भदौ ३० देखि २०६६ भदौ २० गतेसम्म जन्मेका किशोरीलाई खोप दिइँदै छ । खोप अभियान भदौ ३० गतेसम्म सञ्चालन हुने स्वास्थ्य कार्यालयले जनाएको छ ।
एचपीभी खोप ‘ह्युमन प्यापिलोमा भाइरस’ ले गर्दा हुन सक्ने महिलाको पाठेघरको मुख-यौनाङ्गको क्यान्सर तथा यौनाङ्गमा आउने मुसाविरुद्ध प्रभावकारी रहन्छ ।नेपालमा महिलालाई पाठेघरको मुखको क्यान्सर सबैभन्दा बढी हुने गर्छ । सरकारले गत असारमा किशोरीलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप लगाउन २० हजार डोज खोप चीनबाट ल्याएको थियो । आजबाट पहिलो डोज दिइने र ६ महिनापछि दोस्रो डोज दिइनेछ ।
एचपीभी खोप लगाएपछि किशोरीमा खोप लगाएको ठाउँमा दुख्ने तथा सुन्निने, टाउको दुख्ने, वाकवाकी लाग्ने, थकान महसुस हुने, रिङटा लाग्ने, ज्वरो आउने जस्ता समस्या देखिने गर्छन् । खोपको एलर्जी भएमा वा पहिलो मात्रा लगाएर कडा किसिमको प्रतिक्रिया भएमा, ज्वरो आएको अवस्थामा र गर्भवती अवस्थामा खोप नलगाउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।






Write your Comment