

वीरगञ्ज ।
वीरगञ्जका एक जना वडाध्यक्षले विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्षलाई नै बनाउने प्रस्ताव अगाडि सारेका छन् ।सामाजिक सञ्जाल फेसबूकमा एउटा पोस्ट लेख्दै वीरगञ्ज – २० का वडाध्यक्ष रामकुमार सिंह (पराग) ले व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्षलाई बनाउँदा विद्यालयको उचित व्यवस्थापनका लागि सम्पूर्ण तह र निकायबाट पहल गर्न सहज हुने बताएका हुन् ।
वडाध्यक्षलाई विद्यालय व्यवस्थापन समितिको अध्यक्ष बनाएर अभिभावकलाई सदस्य बनाउँदा समिति गठन नहुन सकेका विद्यालयहरूमा समेत नेतृत्वका लागि भइरहेको लछारपछारको झन्झट अन्त्य हुने परागको विश्वास छ । उनले निर्वाचित व्यक्तिलाई व्यवस्थापन समितिको जिम्मेवारी दिए उनीहरूलाई जबाफदेही पनि बनाउन सकिने बताएका छन् ।
यद्यपि सङ्घ र प्रदेशमा निर्वाचित प्रतिनिधिले नियमावली बनाउँदा आफूलाई केन्द्रमा राखेर मात्रा सोच्दा यस्तो नहुन सकेको उनको बुझाई छ ।
बुधवार संसद्मा टेबल भएको विद्यालय शिक्षा सम्बन्धी कानुन संशोधन र एकीकरण गर्न बनेको विधेयक २०८० मा रहेका केही समस्या पनि उनले औँल्याएका छन् । सन्ताक गरेकै व्यक्तिलाई आधारभूत विद्यालयमा शिक्षक बनाउने प्रस्तावले समस्या ल्याउन सकिने भन्दै उनले लेखेका छन्, ‘स्नातक गरेकै व्यक्तिलाई आधारभूत विद्यालयमा शिक्षक राख्ने हो भने कति कक्षा खाली नै रहने सम्भावना देखिँदै छ । अहिले त विद्यालयमा शिक्षक छैनन् भने अब के होला ?’
उनले सङ्घ र प्रदेशका सांसदहरूलाई वडा सम्मको जबाफदेही हुन् अनुरोध पनि गरेका छन् ।
“आज यो स्ट्याटस लेख्दा म आफै वडाध्यक्ष भएकोले लेखेको हो भन्लान् तर यस्तो हैन । मेरो वडामा रहेका विद्यालय व्यवस्थापन समितिहरू सक्षम छन् र गठन पनि भइसकेर कार्य गरिरहेका छन् । म मैले जाने बुझे जति स्कूलको लागि गरी राखेको पनि छु । तर पनि विद्यालय व्यवस्थापन समितिको अध्यक्ष वडाध्यक्ष भए राम्रो हुने थियो । किनभने निर्वाचितले जिम्मा पाए जबाफदेही हुने थिए । अहिले कतिपय विद्यालयमा व्यवस्थापन समिति गठन समेत हुन सकेको छैन । त्यस्तो झन्झट नै हट्ने थियो अध्यक्ष बन्न लछारपछार गर्नेहरूको । अनि समितिमा अभिभावकलाई सदस्य बनाएर उचित व्यवस्थापनको पहल सम्पूर्ण निकायबाट हुन सक्थ्यो तर नेताहरूमाथि सङ्घ र प्रदेशमा नियमावली बनाउँदा आफू केन्द्रित मात्र हेर्ने गर्दो रहेछन् । वडाको तल सम्मको समस्या र त्यसको उपाय बारे कसैले सोच्दैनन् ।
सन्ताक गरेकै आधारभूत विद्यालयमा शिक्षक खोज्ने हो भने कति कक्षा खाली नै रहने सम्भावना देखिँदै छ । अहिले त विद्यालयमा शिक्षक छैनन् भने अब के होला ? वडा सम्मको जबाफदेही बनौँ सांसदज्यूहरू, अनुरोध छ ।”





Write your Comment