मिनिरल वाटर बोक्ने गाडीबाट दुई क्विन्टल गाँजा बरामद, दुई जना पक्राउ

रातोघर

 २०८० आश्विन ४, बिहिबार  मा प्रकाशित
४६७ पाठक संख्या


वीरगञ्ज ।

दुई क्विन्टल लागूऔषध (गाँजा) सहित महोत्तरीबाट दुई जना पक्राउ परेका छन् ।बुधवार महोत्तरी प्रहरीको गस्ती टोलीले चेकजाँच गर्ने क्रममा जलेश्वर नगरपालिका-१ महादेव मन्दिर नजिकबाट उनीहरूलाई दुई क्विन्टल दश किलो गाँजासहित पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङ थाक्रे गाउँपालिका – ७ बस्ने वर्ष २३ वर्षीय जीवन तामाङ र महोत्तरी जलेश्वर नगरपालिका – ७ का २५ वर्षीय सुरेन्द्र दास रहेको महोत्तरी प्रहरी प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलीप कुमार गिरिले जानकारी दिए ।

डिएसपी गिरिका अनुसार बागमती प्रदेश ०१-०२६ च ४९२१ नम्बरको पिकअप गाडिलाई रोकी चेकजाँच गर्ने क्रममा गाडीभित्र लुकाइछिपाई राखिएको १४ वटा पोकामा २ सय १० किलो गाँजा बरामद भएको थियो ।

पिकअप भित्र गाडीको बिचमा १४ वटा पोकामा राखिएको गाँजा चारैतिरबाट मिनिरल वाटरको बोतलले छोपिएको अवस्थामा फेला परेको डिएसपी गिरीले बताए ।

‘प्रहरीलाई छल्न पिकअपमा मिनिरल वाटरको कार्टुनले छोपेर राखिएको थियो । झट हेर्दा पानीको बोतल नै बोकेर आइरहेको देखिन्थ्यो । पिकअप चालक र सहचालकको हाउभाउ शङ्कास्पद देखिएपछि पानीको कार्टुन हटाएर हेर्दा उक्त परिमाणको गाँजा फेला परेको हो,’ डिएसपी गिरीले भने ।पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको  प्रहरीले जनाएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban