गाउँगाउँ पुगेर स्थानीयको गुनासो सुन्दै मेयर सिंह

रातोघर

 २०८० आश्विन ६, शनिबार  मा प्रकाशित
२५० पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले गाउँ गाउँ पुगेर स्थानीयसँग भेट गर्नुका साथै उनीहरूको गुनासो तत्काल सम्बोधन हुने गरी अभियान सुरु गरेका छन् ।मेयर सिंहले प्रत्येक दिन एक टोलमा पुगेर त्यहाँको समस्या सुन्नुका साथै गर्नु पर्ने कामका बारेमा स्थानीयसँग सुझाव लिने अभियान सुरु गरेका हुन् ।

स्थानीयकै मागअनुसार विकास निर्माण तथा स्वास्थ्य, शिक्षा जस्ता विषयमा रणनीति बनाउनुका साथै सल्लाह सुझावअनुसार काम गर्न आफू गाउँ गाउँ आउन सुरु गरेको मेयर सिंहले बताए ।

शुक्रवार वडा नम्बर २९ मुसैलीमा स्थानीयसँग भेट गर्दै त्यहाँको समस्या सुन्नुका साथै स्थलगत रूपमा नै गाउँको अवलोकन गरी तत्काल स्थानीयको माग अनुसारको काम सुरु गर्न प्राविधिक टोलीलाई निर्देशन दिए । महानगरभित्रको ग्रामीण क्षेत्रको विकास आफ्नो पहिलो प्राथमिकता रहेको बताउँदै उनले त्यसका लागि बजेट छुट्याएर काम अघि बढाएको बताए ।

स्थानीयले मुसैली चोकदेखि उत्तर पूर्व सडकमा नाला निर्माण गर्न, सडक निर्माण गर्न, मन्दिर तथा स्वास्थ्य संस्थाको सेवा चुस्त पार्न आग्रह गरेका थिए । वडाध्यक्ष धर्मेन्द्र चौधरीले आफू वडाको विकासका लागि स्थानीयको राय बमोजिम अघि बढेको भन्दै त्यसका लागि मेयरलाई आफूले झकझकाउन नछाड्ने बताए ।

कार्यक्रममा महानगरका योजना प्रमुख इन्जिनियर अवधेस कुशवाहा, प्राविधिक सल्लाहकार प्रकाश अमात्य, स्थानीय बासिन्दा तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban