वीरगञ्जमा धार्मिक सद्भाव बिगार्ने किसिमको गतिविधि नगर्ने सर्वपक्षीय सहमति

रातोघर

 २०८० आश्विन ७, आईतबार  मा प्रकाशित
६१८ पाठक संख्या


वीरगञ्ज ।

वीरगञ्जमा आइतबार बसेको सर्वपक्षीय बैठकले सबै धर्म र समुदायबिच आपसी सद्भाव कायम राख्ने सहमति गरेको छ । जिल्ला प्रशासन कार्यालय पर्सामा आइतबार बसेको सर्वपक्षीय बैठकले यस्तो सहमति गरेको हो । उक्त सहमति पत्रमा राजनीतिक दल, नागरिक समाज, विभिन्न धार्मिक समुदायका अगुवा लगायतकाले हस्ताक्षर गरेका छन् ।

बैठकले वीरगञ्जमा अबदेखि शान्ति अमन चयनमा खलल पुर्‍याउने खालका धार्मिक एवम् सामुदायिक प्रकारका र्‍याली, जुलुस, प्रदर्शन र बन्द हडतालको कार्यक्रम अथवा गतिविधि कुनै पनि समुदाय र सङ्घसंस्थाले नगर्ने सहमति गरेको बैठकमा सहभागी नेपाल पत्रकार महासङ्घ पर्साका अध्यक्ष अनुप तिवारीले जानकारी दिए

“बहु जातीय, बहुभाषिक, बहु धार्मिक एवं बहु सांस्कृतिक विशेषतायुक्त हाम्रो राष्ट्रको गरिमालाई आत्मसात् गर्दै सबै धर्म एवम् सम्प्रदायसँग सम्बद्ध सङ्घसंस्थाहरू विविधताबिचको एकता, सामाजिक सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रवर्धन गर्ने हिसाबले समतामूलक समाजको निर्माणमा अगाडि बढ्ने हाम्रो राष्ट्रको मर्म रहे अनुसार शान्ति अमन चयनमा खलल हुने किसिमका धार्मिक एवं सामुदायिक प्रकारका र्‍याली, बन्द आदि कार्यक्रम एवम् गतिविधिहरू कुनै पनि सङ्घसंस्था एवम् समुदायले नगर्ने । यसमा सबै राजनीतिक दलहरू, स्थानीय तह, नागरिक समाज, संस्था, क्षेत्रलगायतका सरोकारवालाले सहयोग गर्ने,” सहमति पत्रमा लेखिएको छ ।

पर्साका निमित्त प्रमुख जिल्ला अधिकारी शिव लम्सालको अध्यक्षतामा बसेको बैठकमा जिल्ला समन्वय समिति पर्साका प्रमुख निरञ्जन साह सोनार (अजय सर्राफ), वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंह, उपमेयर इम्तियाज आलम, पर्साका प्रहरी उपरीक्षक (एसपी) कोमल शाह, नेपाली काङ्ग्रेस पर्साका उपसभापति रामनारायण कुर्मी, प्रवक्ता रमेश पाण्डे, जनता समाजवादी पार्टी नेपाल पर्साका अध्यक्ष रामनरेश यादव, महानगर अध्यक्ष ईश्वरचन्द्र यादव, नेकपा एमाले पर्साका संयोजक डा. विश्वम्भर शर्मा, नेकपा एकीकृत समाजवादीका महानगर अध्यक्ष मनोज चौधरी, जनमत पार्टीका पर्सा संयोजक ओमप्रकाश सर्राफ, नेता शशी कपुर मियाँ, हिन्दुवादी नेता रञ्जित साह, ओमप्रकाश गुप्ता, नेशनल मेडिकल कलेजका प्रबन्ध निर्देशक बसरुद्धिन अन्सारी, जगरनाथपुर गाउँपालिकाका पूर्व अध्यक्ष जालिम मियाँ मन्सुरी लगायतको सहभागिता थियो ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban