

वीरगञ्ज ।
मधेसी आयोगले सर्लाही जिल्लाको मलङ्गवा नगरपालिकामा कृष्णाष्टमी विश्वकर्मा पूजा तथा गणेश पूजाको मूर्ति सेलाउन जाँदा बाटोमा अवरोध उत्पन्न गराई साम्प्रदायिक दङ्गा फैलाउने घटनाको सत्य तथ्य पता लगाउन एक उच्चस्तरीय अनुगमन टोली सर्लाही पठाएको छ ।आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै घटनाप्रति खेद प्रकट गर्दै आफूहरूले घटनालाई गम्भीरतापूर्वक हेरिरहेको समेत जनाएको छ ।
गत शुक्रवार गणेश चतुर्थीको मूर्ति सेलाउने क्रममा पुनः झडप भएको र त्यसपछि सो घटनाले अझ उग्र रूप लिएको आयोगको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ ।आयोगले कानुन विपरीत कार्य गर्ने जो कोहीलाई पनि कानुनी दायरा भित्र यथाशीघ्र ल्याउन स्थानीय प्रशासनलाई सचेत गराएको छ । आयोगले सो घटनामा घाइते भएकाहरूको उपचारको लागि सरकारलाई तुरुन्त आवश्यक व्यवस्था मिलाउन समेत ध्यानाकर्षण गराएको छ ।
आयोगले अनुगमन टोलीलाई सबै सरोकारवालाहरूले आवश्यक सहयोग गरिदिन समेत आग्रह गरेको छ ।आयोगका अध्यक्ष डा. विजयकुमार दत्तले यस्ता साम्प्रदायिक घटनाहरू प्रति आयोग गम्भीर रहेको बताउँदै यस्ता घटनाहरूका दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन आयोगले समय समयमा स्थानीय प्रशासनलाई निर्देशन दिएको तथा सङ्घीय, प्रदेश तथा स्थानीय सरकारलाई सचेत समेत गराइएको बताए ।





Write your Comment