सिमरामा अन्तर्राष्ट्रिय भेट्रान कप सुरुः आयोजकको सानदार सुरुवात

रातोघर

 २०८० आश्विन ८, सोमबार  मा प्रकाशित
४८० पाठक संख्या


सिमरा ।

 दिपेन राईको ह्याट्रिकको मद्यतले आयोजक सिमरा भेट्रान क्लबले अन्तर्राष्ट्रिय भेट्रान कप फूटबल प्रतियोगितामा बिजयी सुरुवात गरेको छ । सिमरा रंगशालामा आइतबार भएको तेस्रो संस्करणको उद्घाटन खेलमा नवलपरासीको अभिषेक चर्च भेट्रान क्लबलाई ४-२ ले पराजित गर्दै आयोजकले सानदार सुरुवात गरेको हो ।

आयोजकको जितमा राईले तीन गोल गर्दै ह्याट्रिक पूरा गरे । निर्धारित ६० मिनेटको खेलमा राईले २६, ३८ र ४५औं मिनेटमा गोल गरेका थिए । आयोजकका लागि चौथो गोल गोपीप्रसाद भट्टले गरे ।

यता पहिलो खेलमै निराश बनेको अभिषेक चर्चका लागि यमु राना र हरिबहादुर महतोले एक/एक गोल फर्काएपनि हार टार्न सकेनन् । खेलको म्यान अफ दि म्याच आयोजकका राई घोषित भए ।

प्रतियोगिता अन्तर्गत सोमबार दुई खेल हुनेछ । सिमरा रंगशालामा हुने पहिलो खेल चितवन भेट्रान क्लब र वीरगन्ज युथ एकेडेमीबीच हुनेछ । यसैगरी दोस्रो खेलमा दार्जलिङ भेट्रान क्लब र चाबहिल भेट्रान काठमाडौं भिड्नेछन् ।

यसअघि प्रतियोगिताको उद्घाटन जीतपुरसिमरा उपमहानगरपालिकाका नगर प्रमुख राजन पौडेलले गरेका थिए । प्रतियोगिताको उद्घाटन गर्दै नगर प्रमुख पौडेलले समग्र खेलकुद क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले काम गरिरहेको बताए ।

उद्घाटन कार्यक्रममा जीतपुरसिमरा उपमहानगरपालिकाका नगर उपप्रमुख भोलाप्रसाद अधिकारी, अखिल नेपाल फूटबल संघ (एन्फा) का केन्द्रीय उपाध्यक्ष दावा लामा, मधेस प्रदेश फूटबल संघका अध्यक्ष नेपाल कार्की, बारा जिल्ला फूटबल संघका अध्यक्ष रामचन्द्र लामालगायत जीतपुरसिमरा उपमहानगरपालिकाका जनप्रतिनिधि, राजनीतिक दलका नेता, सुरक्षा निकायका अधिकारी, विभिन्न संघसंस्थाका प्रतिनिधिको उपस्थिती रहेको थियो । सिमरा भेट्रानका अध्यक्ष राजकपुर राउतको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण प्रदीप गौतले गरेका थिए ।

Write your Comment


लोककल्याणकारी विज्ञापन





Division Ban