घरायसी प्रायोजनका लागि बालुवा लिन जाँदा सिंगौल प्रहरीले घुस मागेको ट्रयाक्टर व्यवसायीको आरोप

रातोघर

 २०८० आश्विन ९, मंगलबार  मा प्रकाशित
४२४ पाठक संख्या


बारा ।

बाराका सिंगौलका ट्र्याक्टर व्यवसायीहरूले अस्थायी प्रहरी चौकी सिंगौलमा खट्ने प्रहरीले आफूहरूसँग घुस माग गरेको आरोप लगाएका छन् ।प्रहरीले पाँच सयदेखि एक हजार रुपैयाँसम्म घुस माग्ने गरेको ट्र्याक्टर व्यवसायीहरूको आरोप छ ।घरायसी प्रयोगको लागि खोलाबाट बालुवा निकाल्न पाउनुपर्ने मागसहित निजगढ नगरपालिका कार्यालय घेराउ गर्न पुगेका ट्र्याक्टर व्यवसायीहरूले  यस्तो आरोप लगाएका हुन् ।

सिंगौलबाट एक दर्जनको सङ्ख्यामा खाली ट्र्याक्टरसहित आएका व्यवसायीहरूले धन्सार खोलाबाट बालुवा निकाल्ने क्रममा आफूहरूलाई प्रहरीले रकम मागेर दुःख दिने गरेको निजगढ नगरपालिकाका मेयर सुरथ पुरीसँग गुनासो गरेका थिए ।

निजगढको क्रसर उद्योगबाट खरिद गरेर लगेको गिट्टी बालुवामा पनि सिंगौलका प्रहरीले पैसा मागेर दुःख दिने गरेको उनीहरूले बताएका छन् ।कार्यालय घेराउ गर्न पुगेका व्यवसायीहरूले मेयर पुरीलाई बरु आफूहरू नगरपालिकालाई कर बुझाउन तयार रहेको तर प्रहरीलाई घुसको रकम दिन नचाहेकाले बताएका थिए ।मेयर पुरीले नदीजन्य खोला उत्खननको ईआइए रिपोर्ट तयार हुँदै गरेको र केही दिनमै खोला ठेक्का लागेपछि यो समस्या हल हुने प्रतिक्रिया दिए ।

यता इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले भने प्रहरीले कसैसँग पनि रकम नमागेको र खोलाबाट अवैध रूपमा बालुवा ढुङ्गा निकाल्न नपाएपछि व्यवसायीहरूले प्रहरीमाथि झुटा आरोप लगाएको बताए ।चालु आर्थिक वर्षको लागि नगरपालिका कार्यालयबाट नदीजन्य पदार्थको उत्खनन र बिक्रीको ठेक्का लागिसकेकोले प्रहरीले खोलामा गिट्टी, बालुवा र ढुङ्गा उत्खननमा रोक लगाउँदै आएको छ ।

Write your Comment


लोककल्याणकारी विज्ञापन




WorldLink Communications Ltd.


Division Ban