वीरगञ्ज ।
वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले उपचारका लागि आउने बिरामीसंग गरिने व्यवहारमा सुधार ल्याउन नारायणी अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई सुझाव दिएका छन् ।
वीरगञ्जस्थित नारायणी अस्पतालको स्थापनााको १३१ वर्ष पुरा भएको उपलक्ष्यमा शनिबार आयोजित प्रथम वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मेयर सिंहले यस्तो सुझाव दिएका हुन् ।
कार्यक्रममा सहभागी चिकित्सक र स्वास्थ्यकर्मीहरुलाई इंगीत गर्दै मेयर सिंहले भने, आज स्वास्थ्यमन्त्री ज्यु आएका बेला तपाई सबै जना एप्रोन लगाएर चिटिक्क भएर आउनु भएको छ । तर बिरामीलाई सेवा दिने बेला तपाईंहरुको व्यवहार अलग हुन्छ ।
त्यसकारण मन्त्री ज्यु आउँदा जसरी चिटिक्क परेर आउनु भएको छ । त्यसरी नै बिरामीको उपचार गर्दा र सेवा दिदाँ तपाईहरुको व्यवहारपनि त्यस्तै सुमधुर र बिरामीमैत्री होस् भन्ने चाहन्छु ।
मेयर सिंहले नारायणी अस्पतालमा सरकारले निर्माण गर्ने निर्णय गरेको ५ सय शैयाको भवनको विषयमा अदालतमा विचाराधीन मुद्दालाई छिट्टै टुंगो लगाउन कार्यक्रममा सहभागी स्वास्थ्यमन्त्री मोहन बहादुर बस्नेतसंग आग्रह गरे ।
उनले नारायणी अस्पतालमै मृगौला प्रत्यारोपण किड्नी ट्रान्सप्लाण्ट सेवा सञ्चालनका लागि मन्त्री बस्नेतसंग अनुरोध गर्दै त्यसका लागि आवश्यक भवन निर्माण वीरगञ्ज महानगरपालिकाले गरिदिने प्रतिबद्धता पनि जनाए ।
उनले नारायणी अस्पतालमा रहेका कमीकमजोरी सुधार्न सबै जना एकजुट भएर लाग्न आवश्यक भएकोपनि बताए । कार्यक्रममा अस्पताललाई सहयोग गरेको भन्दै मेयर सिंहलाई दोशल्ला र कदरपत्रले सम्मानित पनि गरिएको थियो ।
अस्पतालका निमित्त मेसु डा. चितरञ्जन साहको अध्यक्षता तथा स्वास्थ्यमन्त्री बस्नेतको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा मधेसका स्वास्थ्यमन्त्री वीरेन्द्र सिंह, प्रतिनिधिसभा सदस्यहरु प्रदीप यादव, अजय चौरसिया, प्रभु हजरा, वीणा जयसवाल , प्रदेशसभा सदस्यहरु जनार्दन सिंह क्षेत्री, श्याम पटेल लगायतकोपनि सहभागीता थियो ।
Write your Comment